काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित हात पारेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले नर्विच सिटीविरुद्ध ३–२ गोल अन्तरको रोमाञ्चक जित निकालेको हो ।
युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरे । घरेलु मैदानमा भएको खेलमा सातौं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए । ३२ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा केइरन डोवेलले गोल गर्दै नर्विचलाई २–१ को अवस्थामा ल्याए । ५२ औं मिनेटमा नर्विचका टिमु पुकीको गोलमा खेल २–२ को स्थितिमा आयो ।
खेलको ७६ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाइटेडलाई जित दिलाउन सफल भए । यो जितसँगै युनाइटेडले ३२ खेलमा ५४ अंक जोडेको छ । ऊ तालिकाको पाँचौं स्थानमा छ । २१ अंक जोडेको नर्विच पुछारमा छ ।