लिभिङस्टोनको आक्रामक ब्याटिङका बाबजुद बलियो लक्ष्य दिन चुक्यो पञ्जाब

Image

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को २८ औं खेलमा पञ्जाब किंग्सले सनराइजर्स हैदराबादलाई १५२ रनको लक्ष्य दिएको छ । मुम्बईको डिवाइ पाटिल स्पोर्ट्स एकेडेमीमा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकट गुमाएर १५१ रन बनायो ।

उसका लागि लियाम लिभिङस्टोनले उत्कृष्ट पारी खेले । उनले ३३ बलमा चार छक्का र पाँच चौकासहित ६६ रन बनाए । जारी सिजनमा लिभिङस्टोनको यो तेस्रो अर्धशतकीय पारी हो ।

त्यस्तै, शाहरुख खानले २६, प्रभसिमरण सिंहले १४, ओडेन स्मिथले १३, जोनि बेयरिस्टोले १२ र जितेश शर्माले ११ रनको योगदान दिए । हैदराबादका लागि २२ वर्षीय उमरान मलिकले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा एक मेडनसहित २८ रन दिएर सर्वाधिक ४ विकेट लिए ।

मलिकले अन्तिम ओभरमा शानदार बलिङ गरे । यो ओभरमा उनले बिनारन तीन विकेट लिए । यद्यपि २० औं ओभरमा पनि हैदराबादले रन आउटको रूपमा भने विकेट प्राप्त गर्यो ।

त्यस्तै, भुवनेश्वर कुमारले तीन, जगदीश सूचित र टी नटराजले एक/एक विकेट लिए । जारी लिगमा पञ्जाब र हैदराबाद दुवैले पाँच/पाँच म्याच खेलेका छन् । जसमा दुवै टिमले समान तीनमा जित र दुई खेलमा हार बेहोरेका छन् ।