भुवनेश्वर कुमारले रचे इतिहास, बने यो उपलब्धि हासिल गर्ने पहिलो बलर

Image

काठमाडौं ।

सनराइजर्स हैदराबाद आईपीएल खेलिरहेका तीव्र गतिका बलर भुवनेश्वर कुमारले नयाँ कीर्तिमान बनाएका छन् । उनले आईपीएलमा पावरप्ले (सुरुवाती ६ ओभर) मा सर्वाधिक विकेट लिने बलरको कीर्तिमान बनाएका हुन् ।

भुवनेश्वले यो उपलब्धि आइतबार पञ्जाब किंग्सविरुद्ध ३ विकेट लिएसँगै हासिल गरे । उनले हालसम्म आईपीएलमा पावरप्ले ओभरमा सर्वाधिक ५४ विकेट लिएका छन् । यसअघि आईपीएलमा सुरुवाती ६ ओभरमा सर्वाधिक विकेट लिने कीर्तिमान सन्दीप शर्माको नाममा थियो ।

अब उनको कीर्तिमान भुवनेश्वरले तोडेका छन् । जारी सिजनमा उनले हैदराबादका लागि राम्रो प्रदर्शन गरिरहेका छन् । गत सिजन चोटका कारण गुमाएका भुवनेश्वरले यसपाली ६ म्याच खेल्दा ८ विकेट लिइसकेका छन् ।

उनले आज पञ्जाबविरुद्ध ४ ओभरमा २२ रन दिएर महत्वपूर्ण ३ विकेट हात पारे । योसँगै भुवनेश्वरले आईपीएलमा १५० विकेट पनि पूरा गरेका छन् । उनले १३४ खेलमा डेढ सय विकेट लिएका हुन् ।

पञ्जाबद्वारा हैदराबादलाई १५२ रनको लक्ष्य

पञ्जाब किंग्सले सनराइजर्स हैदराबादलाई १५२ रनको लक्ष्य दिएको छ । मुम्बईको डिवाइ पाटिल स्पोर्ट्स एकेडेमीमा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकट गुमाएर १५१ रन बनायो ।

उसका लागि लियाम लिभिङस्टोनले उत्कृष्ट पारी खेले । उनले ३३ बलमा चार छक्का र पाँच चौकासहित ६६ रन बनाए । जारी सिजनमा लिभिङस्टोनको यो तेस्रो अर्धशतकीय पारी हो ।

त्यस्तै, शाहरुख खानले २६, प्रभसिमरण सिंहले १४, ओडेन स्मिथले १३, जोनि बेयरिस्टोले १२ र जितेश शर्माले ११ रनको योगदान दिए । हैदराबादका लागि २२ वर्षीय उमरान मलिकले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा एक मेडनसहित २८ रन दिएर सर्वाधिक ४ विकेट लिए ।

मलिकले अन्तिम ओभरमा शानदार बलिङ गरे । यो ओभरमा उनले बिनारन तीन विकेट लिए । यद्यपि २० औं ओभरमा पनि हैदराबादले रन आउटको रूपमा भने विकेट प्राप्त गर्‍याे । त्यस्तै, भुवनेश्वर कुमारले तीन, जगदीश सूचित र टी नटराजले एक/एक विकेट लिए । जारी लिगमा पञ्जाब र हैदराबाद दुवैले पाँच/पाँच म्याच खेलेका छन् । जसमा दुवै टिमले समान तीनमा जित र दुई खेलमा हार बेहोरेका छन् ।