पञ्जाबमाथि पनि हैदराबादको फराकिलो जित, अंक तालिकामा गर्‍यो व्यापक सुधार

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले लगातार चौथो जित निकालेको छ । आज भएको पहिलो खेलमा पञ्जाब किंग्सलाई ७ विकेटले हराउँदै हैदराबादले लगातार चौथो जित निकालेको हो ।

हैदरबादले अघिल्लो खेलमा कोलकातालाई सात, गुजरात र चेन्नईलाई आठ/आठ विकेटले हराएको थियो । पहिलो खेलमा भने ऊ लखनउसँग १२ रनले पराजित भएको थियो । आफ्नो पाँचौं खेलमा पञ्जाबले दिएको १५२ रनको लक्ष्य हैदराबादले १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

उसका लागि राहुल निकोलस पूरनले अविजित ३५, एडन मार्कमले नटआउट ४१, राहुल त्रिपाठी र अभिषेक शर्माले ३१/३१ रन बनाए । कप्तान केन विलियम्सन भने तीन रनमै आउट भए । पञ्जाबका राहुल चाहर र कागिसो रबाडाले एक विकेट लिए ।

त्यसअघि मुम्बईको डिवाइ पाटिल स्पोर्ट्स एकेडेमीमा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकट गुमाएर १५१ रन बनायो ।

उसका लागि लियाम लिभिङस्टोनले उत्कृष्ट पारी खेले । उनले ३३ बलमा चार छक्का र पाँच चौकासहित ६६ रन बनाए । जारी सिजनमा लिभिङस्टोनको यो तेस्रो अर्धशतकीय पारी हो ।

त्यस्तै, शाहरुख खानले २६, प्रभसिमरण सिंहले १४, ओडेन स्मिथले १३, जोनि बेयरिस्टोले १२ र जितेश शर्माले ११ रनको योगदान दिए । हैदराबादका लागि २२ वर्षीय उमरान मलिकले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा एक मेडनसहित २८ रन दिएर सर्वाधिक ४ विकेट लिए ।

मलिकले अन्तिम ओभरमा शानदार बलिङ गरे । यो ओभरमा उनले बिनारन तीन विकेट लिए । यद्यपि २० औं ओभरमा पनि हैदराबादले रन आउटको रूपमा भने विकेट प्राप्त गर्‍यो । त्यस्तै, भुवनेश्वर कुमारले तीन, जगदीश सूचित र टी नटराजले एक/एक विकेट लिए ।

यो जितसँगै हैदराबाद सातौँबाट चौथो स्थानमा उक्लिएको छ । उसले पाँच म्याच खेलद एक खेलमा मात्र हार बेहोरेको छ । पञ्जाब भने चौथोबाट सातौँ सथनमा खस्किएको छ । उसले ६ म्याच खेल्दा तीनमा जित र तीन खेलमा हारको सामना गरेको छ ।

त्यस्तै, अंक तालिकाको शीर्षमा गुजरात, दोस्रोमा लखनऊ, तेस्रोमा बैंग्लोर, पाँचौँमा राजस्थान, छैटौंमा कोलकाता, आठौँमा दिल्ली, नवौँमा चेन्नई र दशौँ स्थानमा मुम्बई रहेका छन् ।