इंग्ल्याण्डका यी खेलाडी, जसले आईपीएल खेल्ने प्रस्ताव अस्वीकार गरे

Image

काठमाडौं ।

इंग्ल्याण्डका तीव्र गतिका बलर साकिब महमूदले टेस्ट क्रिकेटका लागि आईपीएलको प्रस्ताव अस्वीकार गरेका छन् । उनलाई आईपीएलमा वैकल्पिक विदेशी खेलाडीको रूपमा प्रस्ताव गरिएको थियो । तर, साकिबले आईपीएल खेल्ने प्रस्ताव अस्वीकार गर्दै काउन्टी च्याम्पियनसिपमा लन्काशायरबाट खेल्ने निर्णय गरे ।

उनले टेस्ट क्रिकेटमा आफ्नो विश्वसनीयता बढाउनको लागि यो निर्णय लिएका हुन् । २५ वर्षीय साकिबले गत महिना इंग्ल्याण्डको वेस्ट इन्डिज भ्रमणका क्रममा टेस्ट डेब्यू गरेका थिए । उनले २२.८३ को औसतमा ६ विकेट लिए । महमूदले पुरानो बललाई रिभर्स स्विङमा लिएर निकै प्रभावित गरे ।

उनले सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा पनि आफ्नो प्रदर्शनबाट प्रभावित पारिसकेका छन् । साकिबलाई वेस्ट इन्डिजविरुद्धको शृंखलाका क्रममा आईपीएल खेल्ने अफर आएको थियो ।

‘मैले आईपीएलको प्रस्ताव अस्वीकार गरे । किनभने म ल्याङ्कशायरका लागि खेल्न चाहन्छु । र, आफ्नो रेड बलको विश्वसनीयता बढाउन चाहन्छु । मलाई वेस्ट इन्डिज भ्रमणमा आईपीएलको प्रस्ताव आएको थियो,’ साकिबले भनेका छन् ।

उनले अगाडि थपे, ‘मैले मेरो वरपरका खेलाडीहरूसँग कुरा गरेँ । र, यो समयमा रातो बलको क्रिकेटमा ध्यान दिनु मेरो लागि उत्तम हुनेछ भन्ने महसुस गरें । आशा छ कि यसले मेरो टेष्ट क्रिकेट खेल्ने तथा लन्काशायरका लागि राम्रो गर्ने र राष्ट्रिय टोलीमा मौका पाउने महत्वाकांक्षालाई उज्यालो बनाउनेछ ।’

साकिबले आफूलाई कुन टोलीबाट अफर आएको भन्ने कुरा भने खुलाएका छैनन् । उनले बेन स्टोक्ससँग कुरा गरेपछि आईपीएलमा सहभागी नहुने निर्णय गरेको बताए । स्मरण रहोस् स्टोक्सले पनि यस वर्षको आईपीएल लिलामीबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

महमुदले भने, ‘यो मेरो विकल्प थियो । यो रमाइलो थियो किनभने मैले एक बिहान स्टोक्ससँग ब्रेकफास्टमा यो कुराकानी गरेको थिएँ । मैले उनीसँग किन आईपीएलमा नजाने भनेर कुराकानी गरेँ । र, उनले जवाफ दिए– तत्काल रातो बल क्रिकेटलाई प्राथमिकता दिन चाहन्छु ।’