चेन्नईले दियो गुजरातलाई बलियो लक्ष्य, राशिद खानले रचे इतिहास

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को २९ औं खेलमा चेन्नई सुपर किंग्स (सिएसके) ले गुजरात टाइटन्सलाई १७० रनको लक्ष्य दिएको छ । पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनायो ।

उसका लागि ऋतुराज गायकवाडले उत्कृष्ट पारी खेले । उनले ४८ बलमा पाँच छक्का र पाँच चौकासहित ७३ रन बनाए । त्यस्तै, अम्बाती रायडूले ४६, रवीन्द्र जडेजाले अविजित २२ र शिवम् दुबेले १९ रनको योगदान दिए । गुजरातका अल्जारी जोसेफले दुई, यस दयाल र मोहम्मद शामीले एक/एक विकेट लिए ।

राशिदले रचे इतिहास

स्टार स्पिनर राशिद खानले आईपीएलमा इतिहास रचेका छन् । उनले आईपीएलमा कप्तानी गर्ने पहिलो अफगानिस्तानी खेलाडी बन्दै इतिहास रचेका हुन् । यसअघि कुनै पनि अफगानी क्रिकेटरले आईपीएलमा कप्तानीको मौका पाएका थिएनन् ।

राशिदले चेन्नईविरुद्ध हार्दिक पाण्ड्याको अनुपस्थितिमा कप्तानी गर्दै नयाँ उपलब्धि हासिल गरे । पूर्णरूपमा फिट नभएकाले हार्दिकले आजको खेल नखेलेका हुन् । उनको स्थानमा राशिदले टिमको कप्तानी गरे । उनले समग्रीमा सन्तोषजनक नै कप्तानी गरे । राशिदलाई गुजरातले १५ करोड भारुमा अनुबन्ध गरेको थियो ।