काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले पाँचौं जित निकालेको छ । गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्स (सिएसके) लाई ३ विकेटले हराउँदै गुजरातले पाँचौं जित निकालेको हो ।
आफ्नो छैटौं खेलमा चेन्नईले दिएको १७० रनको लक्ष्य गुजरातले १९.५ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि डेविड मिलर र कप्तान राशिद खानले उत्कृष्ट पारी खेले । मिलरले ५१ बलमा ६ छक्का र आठ चौकासहित अविजित ९४ रन बनाए । त्यस्तै, राशिदले ३१ बलमा तीन छक्का र दुई चौकासहित ४० रनको आक्रामक पारी खेले ।
डेविड र राशिदले छैटौं विकेटका लागि ३७ बलमा ७० रनको साझेदारी गरे । गुजरातले ब्याटिङमा निकै खराब सुरुवात गरेको थियो । तर, मिलर र राशिदको जोडी जम्दा उसले पाँचौं जित हात पार्न सफल भयो । गुजरातको जितमा अभिनव मनोहरले १२ र ऋद्धिमान साहले ११ रन जोडे ।
चेन्नईका ड्वेन ब्रावोले तीन, महेश थीक्क्षणाले दुई, रवीन्द्र जडेजा र मुकेश चौधरीले एक/एक विकेट लिए । त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनायो ।
उसका लागि ऋतुराज गायकवाडले उत्कृष्ट पारी खेले । उनले ४८ बलमा पाँच छक्का र पाँच चौकासहित ७३ रन बनाए । त्यस्तै, अम्बाती रायडूले ४६, रवीन्द्र जडेजाले अविजित २२ र शिवम् दुबेले १९ रनको योगदान दिए । गुजरातका अल्जारी जोसेफले दुई, यस दयाल र मोहम्मद शामीले एक/एक विकेट लिए ।