काठमाडौं ।
जब विकेटकपर/ब्याटर केएल राहुलले आफ्नो शतक पूरा गर्छन्, उनले यसलाई अनौठो तरिकाले मनाउँछन् । धेरैलाई राहुलको यो सेलिब्रेशन अनौठो लाग्छ । भारतीय टिमका पूर्वकप्तान सुनील गावस्करलाई पनि राहुलको यो सेलिब्रेशन अनौठो लाग्छ ।
अझ उनकै भाषामा भनौं राहुलको सेलिब्रेशनको अर्थ बुझेका छैनन् । राहुलले मुम्बई इन्डियन्सविरुद्धको खेलमा उत्कृष्ट शतक बनाए । शतक बनाएको खेल उनको १०० औं आईपीएल खेल पनि थियो ।
राहुलले यो शतकपछि पनि विगतजस्तै सेलिब्रेशन गरे । शतक बनाएपछि उनी एकछिन आँखा र कान बन्द गर्छन् । राहुलले मुम्बईविरुद्ध ६० बलमा ९ चौका र ५ छक्काको मद्दतमा १०३ रनको अविजित इनिङ्स खेल्दै आफ्नो टोलीलाई ठूलो स्कोरमा पुर्याएका थिए ।
राहुलको सेलिब्रेशनबारे स्टार स्पोर्ट्ससँगको कुराकानीमा गावस्करले भनेका छन्, ‘यो एक उत्सव हो । तर, राहुलको यो सेलिब्रेशन मैले बुझ्न सकिन । उनले यो सेलिब्रेशन चौका/छक्का हिर्काएको बेला गर्नुपर्छ । शतक बनाएको बेला त कान खोलेर पनि प्रशंसा पो सुन्नुपर्छ ।’
राहुलले जारी सिजनमा लखनउ सुपर जायन्ट्सको कप्तानी गरिरहेका छन् । उनकै शतकीय पारीमा लखनउले शनिबार मुम्बईलाई १८ रनले पराजित गरेको थियो । मुम्बईको ब्रेबोर्न स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो । जवाफमा मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १८१ रन मात्रै बनाउन सक्यो ।