चहलले ह्याट्रिकसहित ५ विकेट लिएपछि राजस्थानको रोमाञ्चक जित, यस्तो बन्यो नयाँ अंक तालिका

Image

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा राजस्थान रोयल्सले चौथो जित निकालेको छ । गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) लाई सात रनले हराउँदै राजस्थानले चौथो जित निकालेको हो । आफ्नो सातौँ खेलमा राजस्थानले दिएको २१७ रनको लक्ष्य पछ्याएको कोलकाताले १९.४ ओभरमा सबै विकेट गुमाएर २१० रन बनायो ।

उसका लागि कप्तान श्रेयस अय्यर र आरोन फिन्चले उत्कृष्ट पारी खेले । अय्यरले ५१ बलमा सात चौका र चार छक्कासहित ८५ रन बनाए । त्यस्तै, फिन्चले २८ बलमा नौ चौका र दुई छक्कासहित ५८ रनको आक्रामक पारी खेले ।

उमेश यादव २१ र नितिश राणा १८ रनमा आउट भए । राजस्थानका लागि स्पिनर युजवेन्द्र चहलले ह्याट्रिकसहित पाँच विकेट लिए । उनले १७ औं ओभरमा श्रेयस अय्यर, शिवम मावी र प्याट कमिन्सलाई आउट गर्दै ह्याट्रिक पूरा गरे । त्यसअघि चहलले यही ओभरको पहिलो बलमा वैंकटेश अय्यरलाई आउट गरेका थिए ।

उनले १२ औं ओभरको अन्तिम बलमा नितिश राणालाई आउट गर्दै आफ्नो खाता खोलेका थिए । चहलले ४ ओभरमा महत्वपूर्ण ५ विकेट लिएर ४० रन खर्चिए । राजस्थानको जितमा महत्वपूर्ण योगदान दिएका उनी प्लेयर अफ द म्याच पनि घोषित भए ।

त्यस्तै, ओबेद म्याक्योले दुई, रविचन्द्रन आश्विन र प्रसिद्ध कृष्णाले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१७ रन बनायो । उसका लागि प्रारम्भिक ब्याटर जोस बटलरले शतकीय पारी खेले । उनले ६१ बलमा पाँच छक्का र ९ चौकासहित १०३ रन बनाए ।

जारी सिजनमा बटलरको यो दोस्रो शतक हो । उनले यही संस्करणमा मुम्बई इण्डियन्सविरुद्ध ६८ बलमा ११ चौका र पाँच छक्कासहित १०० रन बनाएका थिए । आईपीएलमा भने उनको यो तेस्रो शतक हो । बटलरले आईपीएलमा पहिलो शतक २०२१ मा बनाएका थिए । केकेआरविरुद्ध शतक बनाएसँगै बटलरले इतिहास रचेका छन् । उनले राजस्थानका लागि आईपीएलमा तीन शतक बनाउने ब्याटर बन्दै इतिहास रचेका हुन

त्यस्तै, केकेआरविरुद्ध कप्तान सञ्जु सामसनले ३८, देवदत्त पाडिक्कलले २४ र शिमरोन हेटमायरले १३ बलमा अविजित २६ रनको योगदान दिए । कोलकाताका लागि सुनिल नारायणले दुई, शिवम् मावी, प्याट कमिन्स र प्याट कमिन्सले एक/एक विकेट लिए । जारी लिगमा राजस्थान र केकेआरले समान पाँच म्याच खेल्दा तीन/तीन खेलमा जित हात पारेका छन् ।

यो जितसँगै राजस्थान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले ६ म्याच खेल्दा चारमा जित र दुई खेलमा हार बेहोरेको छ । कोलकाताले सात म्याचमा चारमा हार र तीन खेलमा जित हात पारेको छ । ऊ अंक तालिकाको छैटौं स्थानमा छ ।

त्यस्तै, अंक तालिकाको शीर्षमा गुजरात, तेस्रोमा लखनउ, चौथोमा बैंग्लोर, पाँचौँमा हैदराबाद, सातौँमा पञ्जाब, आठौँमा दिल्ली, नवौँमा चेन्नई र दशौँ स्थानमा चेन्नई रहेका छन् ।