काठमाडौं ।
गएराति सम्पन्न खेलमा लखनउ सुपर जाइन्ट्सलाई १८ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) आईपीएल २०२२ को अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आरसिबीको जितमा कप्तान फाफ डु प्लेसिसको ठूलो योगदान रह्यो । उनले ६४ बलमा ११ चौका र दुई छक्काको मद्दतमा ९६ रनको पारी खेले ।
उत्कृष्ट इनिङ्स खेलेका डु प्लेसिस प्लेयर अफ द म्याचसमेत घोषित भए । कठिन समयमा शानदार ब्याटिङ गरेका उनी अन्तिमतिर केही थकित देखिन्थे । फाफले पनि यो कुरामा समर्थन गर्दै भनेका छन्, ‘म थाकेको थिएँ तर म त्यो मोडमा थिएँ जहाँ मलाई बललाई राम्रोसँग हिट गर्न सकिन्छ भन्ने लागेको थियो । मैदान ठूलो थियो, त्यसैले हामीले धेरैपटक दुई रन दौड्नुपरेको थियो । यस खेलमा शतक नबनाए पनि छिट्टै आरसिबीबाट त्यो पनि पूरा गर्छु भन्ने विश्वास छ ।’
उनले आफ्नो उत्कृष्ट ब्याटिङबारे भने, ‘आज म कृतज्ञ छु कि मैले यस्तो इनिङ खेल्न पाए । मलाई रनको भोक लाग्यो । म ठूलो प्रभाव पार्न चाहन्छु किनभने पछिल्ला केही खेलहरूमा प्रदर्शन गर्न सकेन । म आफ्नै तरिकाले मैदानमा गएँ । र, रन बनाएँ । यो म्याचमा गएर रन बनाउनुपर्छ भन्ने मेरो दिमागमा पहिल्यै थियो । र, त्यो सफल भएकोमा खुसी छु ।’
मुम्बईको डिवाई पाटिल स्टेडियममा खेलिएको लिगको ३१ औं खेलमा आरसिबीले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो । जवाफमा लखनउको टोलीले ८ विकेट गुमाएर १६३ रन बनाउन मात्र सक्यो । उसका लागि कृणाल पाण्ड्याले २८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४२ रन बनाए ।
कप्तान केएल राहुल ३०, मार्कस स्टोइनिस २४, जेसन होल्डर १६, दीपक हूडा र आयुष बदोनी १३–१३ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बैंग्लोरका लागि जोश हेजलउडले चार, हर्षल पटेलले दुई, मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले एक–एक विकेट लिए ।
त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनायो । उसका लागि कप्तान फाफ डुप्लेसिसले उत्कृष्ट ब्याटिङ गरे । उनले ६४ बलमा ११ चौका र दुई छक्कासहित ९६ रन बनाए । त्यस्तै, सहबाज अहमदले २६, ग्लेन म्याक्सवेलले २३, दिनेश कार्तिकले अविजित १३ र सुयश प्रभुदेसाई ले १० रनको योगदान दिए ।
लखनउका लागि दुश्मन्था चामेरा, जेसन होल्डरले दुई÷दुई र कृणाल पाण्ड्याले एक–एक विकेट लिए । यो जितसँगै बैंग्लोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले ७ म्याच खेल्दा दुई खेलमा मात्र हार बेहोरेको छ ।
लखनउ चौथो स्थानमा छ । उसले सात खेलमध्ये चारमा जित र तीन खेलमा हारको सामना गरेको छ । त्यस्तै, अंक तालिकाको शीर्षमा गुजरात, तेस्रोमा राजस्थान, पाँचौंमा हैदराबाद, छैटौंमा कोलकाता, सातौँमा पञ्जाब, आठौँमा दिल्ली, नवौँमा चेन्नई र दशौँ स्थानमा मुम्बई रहेका छन् ।