हार नजिक पुगेको खेल जिताएपछि जडेजाले धोनीलाई ढोगे

Image

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सविरुद्ध अन्तिम बलमा रोमाञ्चक जित निकालेपछि चेन्नई सुपर किंग्सका कप्तान रवीन्द्र जडेजा उत्साहित छन् । गएराति भएको खेलमा चेन्नईले मुम्बईलाई ३ विकेटले हराएको थियो ।

प्लेअफ पुग्ने सम्भावना जीवितै राख्न चेन्नईलाई जित निकाल्नैपर्ने बाध्यता थियो । हार खेलको संख्या ६ पुग्नै लागेको अवस्थामा महेन्द्रसिंह धोनीले संकट टारे । र, उनले टिमलाई रोमाञ्चक जित दिलाए ।

खेलपछि जडेजाले भनेका छन्, ‘खेल जसरी चलिरहेको थियो, हामी तनावमा थियौँ । यद्यपि, हाम्रो उत्कृष्ट फिनिसर अझै मैदानमा थिए, त्यसैले हामीलाई थाहा थियो कि हामीसँग मौका छ । उहाँ अहिले यहाँ हुनुहुन्छ । र, हाम्रो लागि माही भाइले यो काम गर्दै हुनुहुन्छ ।

उनले अगाडि थपे, ‘पावरप्लेमा मुकेशले उत्कृष्ट बलिङ गरे । हामीले फिल्डिङमा केही क्याच पक्रन सकेनौं । यस्तो कहिलेकाहीँ हुन्छ, त्यसैले फिल्डिङलाई कहिल्यै हल्का रूपमा लिनुहुन्न । र, कडा परिश्रम गर्नुपर्छ । हामीले फिल्डिङमा अझै धेरै काम गर्न आवश्यक छ ।’

फेरि जडेजाले धोनीको खुलेरै प्रशंसा गरे । ‘चेन्नई सुपर किंग्सको जितको श्रेय माही भाइलाई जानुपर्छ । उहाँले अन्तिम चार बलमा १६ रन बनाएर खेल जिताउनुभयो । जयदेव उनादकटमाथि दबाब राख्दै माही भाइले फेरि एकपटक आफूलाई उत्कृष्ट फिनिसर साबित गर्नुभयो,’ जडेजाले खेल सकिएपछि भने ।

हार नजिक पुगेको खेल जिताएपछि जडेजाले धोनीलाई अँगालोमा बेरे । त्यति मात्र होइन उनले आफ्नो क्याप निकालेर धोनीलाई ढोगे । आफ्नो सातौँ खेलमा मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर भेट्टायो । उसका लागि अम्बाती रायडूले ४०, रोबिन उथप्पाले ३०, महेन्द्रसिंह धोनीले अविजित २८, ड्वेन प्रिटोरियसले २२, शिवम् दुबेले १३ र मिचेल सान्टनरले ११ रन बनाए ।

चेन्नईको जितमा धोनी र प्रिटोरियसले उत्कृष्ट फिनिसिङ गरे । अन्तिम ओभरमा चेन्नईलाई जितको लागि ६ बलमा १७ रनको आवश्यकता थियो । यस ओभरको पहिलो बलमा चेन्नईले प्रिटोरियसलाई गुमायो । दोस्रो बलमा ड्वेन ब्रावोले एक रन लिँदै धोनीलाई स्ट्राइक दिए ।

धोनीले तेस्रो बलमा छक्का र चौथो बलमा चौका हिर्काउँदै खेलाई जित नजिक पुर्याए । पाँचौं बलमा उनले दुई रन जोडे । धोनीले अन्तिम बलमा चौका हिर्काउँदै चेन्नईलाई रोमाञ्चक जित दिलाए । मुम्बईका लागि डानियल साम्सले चार, जयदेव उनादकटले दुई र रिले मेरिडिथले एक विकेट लिए ।

त्यसअघि डिवाई पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनायो ।डिवाई पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनायो । उसका लागि युवा ब्याटर तिलक वर्माले अर्धशतकीय पारी खेले ।

उनले ४३ बलमा तीन चौका र दुई छक्काको मद्दतमा नटआउट ५१ रन बनाए । १९ वर्षीय तिलकले कठिन समयमा अर्धशतकीय पारी खेलेका हुन् । जारी लिगमा उनको यो दोस्रो अर्धशतक हो । त्यस्तै, जयदेव उनादकटले उत्कृष्ट पारी खेले । उनले ९ बलमा एक चौका र एक छक्कासहित अविजित १९ रन बनाए ।

सूर्यकुमार यादव ३२, ऋतिक शोकिन २५ र किरण पोलार्ड १४ रनमा आउट भए । कप्तान रोहित शर्मा र इशान किशनले भने खाता खोल्न सकेनन् । चेन्नईका लागि मुकेश चौधरीले उत्कष्ट बलिङ गरे । उनले ३ ओभरमा १९ रन खर्चिएर महत्वपूर्ण तीन विकेट लिए ।

त्यस्तै, ड्वेन ब्रावोले दुई, महेश थिक्क्षणा र मिचेल सान्टनरले एक/एक विकेट हात पारे । यो जितसँगै चेन्नईले चार अंक जोडेको छ । ऊ अंक तालिकाको नवौँ स्थानमा छ । यता पाँचपटकको आइपिएल विजेता मुम्बईको भने यो लगातार सातौँ हार हो । योसँगै प्लेअफ पुग्ने मुम्बईको सपना लगभग समाप्त भएको छ ।