Khabar Board

असन्तुष्टको स्थानमा प्रशिक्षक अल्मुताइरीले बोलाए नयाँ १० खेलाडी

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमका १० सिनियर खेलाडीले अचानक प्रशिक्षण छाडेपछि नेपाली फुटबलमा भूकम्प गएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको मनमुटावका कारण खेलाडीले बन्द प्रशिक्षण छाडेको बताइएको छ ।

प्रशिक्षण छाड्नेमा रोहित चन्द, विशाल श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, सुमन लामा, तेज तामाङ, विशाल राई र विमल घर्तीमगर रहेका छन् । उनीहरूले मंगलबार राति नै वर्ल्ड ट्रेड सेन्टरको होटल छाडेका थिए । ती सबै खेलाडी त्यसअघि टिम बैठकमा भने सामेल थिए । बैठकमा भने खेलाडीले कुनै प्रकारको असन्तुष्टिको संकेत नदेखाएको बुझिएको छ ।

प्रशिक्षण छाडेको खेलाडीको स्थानमा प्रशिक्षक अल्मुताइरीले नयाँ खेलाडी बोलाइसकेका कान्तिपुरले समाचार लेखेको छ । असन्तुष्ट खेलाडीको स्थानमा अल्मुताइरीले क–कसलाई बोलाएको छन् भनेर चाहिँ सार्वजनिक हुन बाँकी छ । नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले १० खेलाडीले बन्द प्रशिक्षण छाडेको पुष्टि गर्दै के कस्तो कारणले उनीहरूले त्यस्तो गरेका हुन् भनेर प्रष्ट नभएको बताए ।

टिमसँगै होटलमा रहेका व्यवस्थापन समूहका कृष्ण मानन्धरले खेलाडी पहिलोपटक यसरी बाहिरिएको जानकारी दिएका हुन् । उपाध्यक्षका अनुसार उनले प्रशिक्षण छाडेर गएका खेलाडीलाई सम्पर्क गर्न खोजे पनि त्यसमा सफलता मिलेको छैन ।

उनले भने, ‘मैले सबै खेलाडीसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छु, तर कोही पनि मेरो सम्पर्कमा आउन चाहेका छैनन् । मैले फोन गरे पनि उनीहरूले उठाइरहेका छैनन् । उनीहरूले राष्ट्रिय टिमको सामाजिक सञ्जालको समूह पनि छाडेका छन् । त्यसैले उनीहरूले किन प्रशिक्षण छाडे भनेर भन्न सकेको छैन ।’

एसियाकप तेस्रो चरणको छनोटका लागि नेपाली राष्ट्रिय टिम अहिले बन्द प्रशिक्षणमा रहेको छ । त्यस छनोट अगाडि नेपालले अफगानिस्तानविरुद्ध दुई मैत्रीपूर्ण खेल पनि खेल्नेछ । त्यसअघि नेपाली फुटबल खेलाडी प्रशिक्षक अल्मुताइरीको समर्थनमा रहँदै आएका थिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.