काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले मुख्य प्रशिक्षक पाउन लामै समय कुर्नुपर्ने भएको छ। मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले बुधबार व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन रहेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले खुल्ला प्रतिस्पर्धाबाट नयाँ मुख्य प्रशिक्षक ल्याउने योजना बनाएको छ। तर, मुख्य प्रशिक्षक नियुक्तिको प्रक्रियामा जान नै समय लाग्ने भएको छ। मुख्य प्रशिक्षकको आवेदन खुलाउन बोर्ड बैठकको स्विकृती चाहिन्छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल देश बाहिर रहेकाले तत्काल बोर्ड बैठक बस्ने सम्भावना छैन। ‘अध्यक्ष र कार्यबाहक सचिव आईसीसीको बैठकमा सहभागी हुन इंग्ल्याण्ड जानु भएको छ। उहाँहरु १४ गते फर्कने तालिका रहेको छ। त्यसपछि मात्र प्रशिक्षक नियुक्तिको प्रकृया सुरु हुन्छ,’ क्यान महाप्रबन्धक वृतान्त खनालले भने।
महाप्रबन्धक खनालले मुख्य प्रशिक्षक नियुक्ति खुल्ला प्रतिस्पर्धाका आधारमा गरिने बताए। ‘हामीले खोजे जस्तो प्रशिक्षक नेपालमा छैनन् नै आवेदन बाहिरकाले दिने हुन्। कतिको संख्यामा आवेदन आउँछ। त्योबाट नै नियुक्ति कहिलेसम्म हुन्छ भन्न सकिन्छ,’ खनालले भने, ‘पहिलेको जस्तो महत्वपूर्ण प्रतियोगिताको साता दिनअघि मात्र प्रशिक्षक नियुक्त हुने परम्परा यसपटक तोडिने र माथिल्लो स्तरको प्रशिक्षक ल्याउने तयारीसमेत रहेको छ।’
क्यानले गत मंसिरमा खुल्ला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। तर, दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको ८ महिनामै पुबुदुले राजीनामा दिएका हुन्। पुबुदु क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भइसकेका छन्।
यो पनि : नेपालले अष्ट्रेलियामा क्रिकेट खेल्ने, यस्तो छ खेल तालिका