Khabar Board

नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने पक्का, यस्तो छ मिति

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपालले केन्यासँग उसैको मैदानमा ५ खेलको सिरिज खेल्ने भएको हो ।नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले अगष्ट चौथो सातादेखि केन्यामा गएर पाँच टि२० आई सिरिज र तीन एकदिवसिय अभ्यास खेल खेल्ने भएको छ ।

यस्तै नेपालले अभ्यास खेलको रुपमा ५० ओभरको तीन खेल खेल्नेछ । सिरिजका लागि नेपाली टोली अगस्टको अन्तिम साता केन्याको भ्रमणमा निस्कने छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले केन्यासँग खेल्ने पाँच टि२० आई पक्का भएको बताएका छन् । ‘हामी तालिका मिलाउँदै छौं । टि२० आई पाँच खेलको हुनेछ । बाँकी तीन अभ्यास खेल ५० ओभरको हुनेछ,’ उनले भने ‘टिम १७–१८ अगष्ट तिर जान्छ होला । टि२० आईमा सन्दीप लामिछानेले नै कप्तानी गर्छन् । बाँकी एकदिवसिय अभ्यास खेलमा उपकप्तानले गर्नेछन्’, ।

केन्याको क्रिकेट संघले नेपाललाई सिरिजको निमन्त्रणा दिएको थियो । जसअन्तर्गत नेपाली टोली केन्या जान लागेको हो ।
एक समय एसोसिएट क्रिकेटको सशक्त टोली केन्याको स्तर अहिले भने केही खस्किएको छ ।

यता नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने भने क्वारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज जाँने भएका छन् । त्यसैले नेपालले तालिका केहि फेरबदल गर्नुपर्ने जस्तो देखिन्छ ।  सिपिएल ३१ अगष्ट देखि सुरु हुनेछ । सन्दीपले जमैका तलवाजबाट सिपिएल खेल्नेछन् ।

नेपाल र केन्या दुवैले २०२३ मा हुने एकदिवसिय विश्वकप छनोट चरण खेलिरहेका छन् । नेपालले माथिल्लो स्तरको खेल्दा केन्याले सबैभन्दा तल्लोक्रमको छनोट खेलेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्दै आएको छ । केन्याले क्रिकेट विश्वकप च्यालेन्ज लिग बी खेलेको छ । जसमा केन्या, हङकङ, इटाली, बर्मुडा, जर्सी र युगान्डा छन् ।

यो पनि : नेपाली क्रिकेटले ‘चाँडै’ नयाँ प्रशिक्षक पाउँदै

क्यानडाका पुबुदु दासानायकेले अचानक पदबाट राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले प्रशिक्षकविहीन अवस्थामा छ । आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता क्रिकेट विश्वकप लिग–२ खेलिरहेको नेपाली टोली दुई सातादेखी प्रशिक्षकविहीन बनेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)का कार्यबहाक सचिव प्रशान्तविक्रम मल्लले भने चाँडै नेपाली टिमले नयाँ प्रशिक्षक पाउने बताएका छन् । “हामीलाई काम गर्नसक्ने, टोलीलाई अगाडि बढाउन सक्ने, टोलीलाई लामो समय दिनसक्ने प्रशिक्षक खाँचो छ,” मल्लले भने, “हामी आन्तरिक प्रक्रियाबाट पनि प्रशिक्षक नियुक्त गर्न सक्छौँ । सूचना ननिकालेर पनि प्रशिक्षका ल्याउन सकिन्छ । छिट्टै नयाँ प्रशिक्षक नेपाली क्रिकेटले पाउँदैछ । शुभसमाचार नेपाल क्रिकेटले छिट्टै पाउँछ ।”

दोस्रोपटक कार्यभार सम्हाल्न आएका प्रशिक्षक दासानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेटमा कस्तो प्रशिक्षक आउने हो भनेर चासोको रूपमा हेरिएको छ । पछिल्लो समय नेपाली क्रिकेटले राम्रो प्रशिक्षक पाए पनि उनीहरूलाई लामो समय टिकाएर राख्न सकेको छैन । यसअघिका डेब वाटमोर र उमेश पटवालले पनि सम्झैताअनुसारको कार्यकाल पूरा नगरी नेपाली टिम छाडेका थिए । त्यसकारण पनि अब को आउने र कति समय टिक्ने भन्ने गम्भीर प्रश्न खडा छ ।

“हामीले खोज्ने भनेको बेस्ट कोच हो । जसले नेपाली क्रिकेटलाई राम्रोसँग ह्यान्डल गर्न सकोस् । टोलीमा प्रदर्शनको आधारमा केही कठिनाइ पनि छन् । त्यसलाई समाधान गर्ने प्रशिक्षकको खोजिमा छौँ,” क्यानका कार्यबहाक सचिव मल्लले नयाँ प्रशिक्षक नियुक्तिबारे भने, “अहिले हामीसँग विश्वका नाम चलेको प्रशिक्षक पनि छन् । तर, हामीलाई काम गर्न सक्ने र कठिन अवस्थामा रहेको टिमलाई हाँक्न सक्ने प्रशिक्षक चाहिएको हो ।”

निवर्तमान प्रशिक्षक दासानायकेले नेपाल छाडेपछि ‘राष्ट्रिय क्रिकेट टोलीमा गुट, उपगुट र विवाद भएको’ स्वीकार गरेका छन् । तथापि उनले वर्तमान अवस्थामा कम भएको बताएका छन् । पहिलो कार्यकालमा नेपाली क्रिकेटलाई सफलताको उचाइको पुर्‍याएका दासानायकेको दोस्रो कार्यकालबाट पनि सोही खालको अपेक्षा गरिएको थियो । तर, दासानायकेको दोस्रो कार्यकाल भने सुखद हुन सकेन ।

नेपाली क्रिकेटलाई उकास्नका लागि नेपाली संस्कृति र खेलाडीको मनोभावना बुझ्न सक्ने प्रशिक्षक आवश्यक रहेको पूर्व कप्तान पवन अग्रवालले बताए । उनले भारत, श्रीलंका, पाकिस्तानका लेभल थ्री कोर्स गरेका प्रशिक्षक भए नेपाली टोलीलाई सहज हुने बताए । भाषा र संस्कृति नबुझ्ने समस्याका कारण पनि कतिपय खेलाडीलाई प्रशिक्षणमा कठिन भएको अग्रवालको बुझाइ छ ।

“पु्बुदुको दोस्रो कार्यकालमा अपेक्षा अनुसारको नतिजा आउन सकेन । अहिले हामीलाई चाहिने भनेको नेपाली संस्कृति र खेलाडीको मनोभावना बुझ्ने प्रशिक्षक हो । खेलाडी र प्रशिक्षकबीच भाषा मिल्न आवश्यक छ,” अग्रवालले थपे, “नेपाली संस्कृति बुझ्नुसक्ने भयो भनते खेलाडीसँगको संवाद केही हदसम्म सहज हुन्छ ।”

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.