काठमाडौं ।
राष्ट्रिय फुटबल टिम बंगलादेशसँगको मैत्रीपूर्ण म्या खेल्ने तयारीमा जुट्दैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षण सुरु गर्दैछ। तर, टिममा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी यतिबेला कुवेतमा छन्। तीन महिनाको बिदा लिएर गएका अल्मुताइरी नेपाल फर्किने हतारमा देखिन्छन्।
सामाजिक संजालमा उनले गरेको पोस्टले त्यसकै संकेत गर्छ। तर, बिदा नसकि फर्किन चाहेका अल्मुताइरीलाई एन्फाले भने राखिरहन नचाहेको सन्देश दिएको छ। एन्फाले एकातिर कार्यवाहक प्रशिक्षक नियुक्त गरेको छ भने अर्कातिर अल्मुताइरीलाई छानबिनको दायरामा ल्याएको छ। एन्फाको नयाँ नेतृत्वले उनलाई छानबिनको दायरामा ल्याएको हो।
‘उहाँ अहिले छानबिनको दायरामा हुनुहुन्छ। त्यस कारणले उहाँलाई अहिले होल्ड गरिएको छ,’ एन्फा महासचिव किरण राईले भने,‘उहाँलाई यथास्थितिमा राखिएको छ। उहाँलाई जिम्मेवारी दिइएको छैन। नयाँ मान्छेलाई जेम्मेवारी दिइएको छ।’ मुख्य प्रशिक्षक र खेलाडीबीचको विवाद छानबिन गर्न गठित समितिले अल्मुताइरीको विकल्प खोज्न एन्फालाई सुझाव दिएको थियो।
राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अल्मुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानबिन गर्न गठित ३ सदस्यीय समितिले एन्फालाई उक्त सुझाव दिएको हो। सेनाका पूर्वउपरथीसमेत रहेको पूर्वराष्ट्रिय खेलाडी भिक्टर राणा संयोजकत्वको समितिमा पूर्वखेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा थिए।
नयाँ कार्यसमितिले प्रशिक्षकबारे निर्णय गर्ने जिम्मेवारी महासचिव किरण राई दिएको छ। ग्त बिहीबार बसेको एन्फा कार्यसमिति बैठकले अल्मुताइरीबारे निर्णय गर्ने अधिकार राईलाई दिने निर्णय गरेको हो। तर, नयाँ नेतृत्व सामाजिक संजालमा अल्मुताइरीको सक्रियताबारे सन्तुष्ट छैन। ‘उहाँको फेसबुकको लेखाइले पनि उहाँबारे निर्णय लिँदा फरक पार्ने देख्छु मैले। उहाँले धेरै कुरा लेख्नु भएको छ।’ महासचिव राईले भने।
अल्मुताइरीले आफू बिरामी रहेको जानकारी गराएको एन्फाले बताएको छ। महासचिव राईले भने, ‘बिरामी छु भन्नुभएको छ। मेडिकली के हो भन्ने प्रमाणित छैन। मुटुको रोगी मान्छे फिल्डमै ढल्नु भएको थियो। त्यो रिस्क लिने कि नलिने? भोलि नेपाल आएपछि केही भइहाल्यो भने के हुन्छ?’ एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलका क्रममा अल्मुताइरीले मैदानमै ढलेका थिए।
अल्मुताइरीको बिदा बंगलादेशसँगको मैत्रीपूर्ण खेल सुरु हुनुभन्दा दुई साता अघि सकिँदैछ। त्यसैले उनले बन्द प्रशिक्षणका लागि २६ खेलाडीको सूची एन्फामा पठाएका थिए। उनको उक्त सूचीमा प्रशिक्षण छाडेका १० मध्ये २ खेलाडी मात्रै थिए। तर, एन्फाले आफूसँग समन्वय नगरेको भन्दै उक्त सूची खारेज गरिदिएको छ।
छानबिन प्रक्रिया अगाडि बढाउनुका साथै कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त र सूची अस्वीकार गरेर एन्फाले अल्मुताइरीलाई आफूले नरुचाएको सन्देश दिएको छ। नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाएका छन्।
कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्तिमगर, अन्जन विष्ट, अनन्त तामाङलगायतका अनुभवी सिनियर खेलाडीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। मुख्य प्रशिक्षक अल्मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत वैशाख १३ गते प्रशिक्षण छाडेका १० खेलाडीमध्ये सुमन लामा अटाएका छैनन्। नेपालले आगामी असोज दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ। मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ।
यो पनि : नेपाली क्रिकेटका लागि थपियो अर्को नयाँ खुसीको खबर