काठमाडौं । कोलकाता नाइट राइडर्ससँग पराजित हुँदै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ दौडबाट बाहिरिएको छ ।
गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट राइडर्सले २४ रनको शानदार जित सँगै मुम्बई प्लेअफ दौडबाट बाहिरिएको हो। जारी सिजनमा मुम्बईको यो आठौँ हार हो। कोलकाताको यो मुम्बइको घरेलु मैदानमा १२ वर्षपछि जित हो ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कोलकाताले दिएको १७० रनको मध्यम लक्ष्य पछ्याएको मुम्बई ७ बल खेल्न बाँकी हुँदै १४५ रनमा समेटिएको हो। यो जितसँगै कोलकाता १४ अंकसहित दोस्रो स्थानमा यथावत छ। मुम्बई भने ६ अंकसहित नवौं स्थानमा छ।
सुरुमा ब्याटिङ गरेको कोलकाताका ओपनर र चर्चित ब्याट्सम्यान चल्न सकेनन्। उसका लागि वेंकटेश अय्यरले बनाएको शानदार अर्धशतक नै जितका लागि पर्याप्त भयो। उनले ५२ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ७० रन बनाए। मनिष पाण्डे ४३ रनमा आउट हुँदा अङ्कृष्न रघुवंशीले मात्र १३ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।
फिल साल्ट ५, सुनिल नारायन ८, कप्तान श्रेयस अय्यर ६ र रिंकु सिंह ९ रनमा आउट हुँदा आन्द्रे रसेलले मात्र ७ रन बनाए। कोलकाता एक बल खेल्न बाँकी हुँदै १६९ रन बनाएर अलआउट भएको थियो।
कोलकातालाई सस्तैमा समेट्न मुम्बईका नुवान तुषारा र जसप्रित बुमराहले तीनतीन विकेट हात पारे। कप्तान हार्दिक पाण्डेयले दुई विकेट लिँदा पियुष चावलाले एक विकेट हात पारे।
१७० रनको लक्ष्य पछ्याएको मुम्बईकाको ब्याटसमेत कलकाताविरुद्ध चल्न सकेन। उसका लागि सूर्यकुमार यादवले अर्धशतक बनाउनुबाहेक अन्य ब्याट्सम्यानले खेल्न सकेनन्। यादवले ३५ बलमा ५६ रन बनाए। टिम डेबिडले २४ रन बनाउँदा कप्तान हार्दिक पाण्डे तीन बल खेल्दै १ रनमा आउट भए। इशन किसन १३, रोहित शर्मा ११, नमन धिर ११, नेहल वढेरा ६ रनमा आउट हुँदा तिलक बर्माले ४ रन मात्र जोडे। मुम्बई ७ बल बाँकी हुँदै १४५ रनमा अलआउट भएको हो।
मुम्बईलाई सस्तैमा समेट्न कोलकाताका लागि मिचेल स्टार्कले एक्लै चार विकेट लिए भने वरुण चक्रवर्ती सुनिल नारायन र आन्द्रे रसेलले दुईदुई विकेट हात पारे। राजस्थान १० खेलमा ८ मा जितेर १६ अंकका साथ शीर्षस्थानमा छ । कोलकाता १० खेलमा ७ मा जितका साथ १४ अंक जोड्दै दोस्रो स्थानमा छ ।
समान १० खेलमा १२-१२ अंकका साथ लखनउ तेस्रो र हैदराबाद चौथो स्थानमा छन् । मुम्बइ ११ खेलमा ३ मा जितका साथ ६अंकका साथ नवौं स्थानमा छ । मुम्बइले अब तीन खेल खेल्न बाँकी छ । बाँकी तीनै खेलमा विजयी हुँदा पनि मुम्बइ १२ अंकमा मात्रै पुग्न सक्छ । तर, शीर्ष चारमा रहेर प्लेअफ खेल्न कुनै पनि टोलीलाई १२ अंक पर्याप्त हुँदैन ।