कप्तान वासिमले जिते ‘आईसीसी पुरुष प्लेअर अफ द मन्थ’ अवार्ड

Image

काठमाडौँ । युएईका कप्तान मुहमद वासीम आइसीसीको अप्रिल महिनाको ‘प्लेयर अफ द मन्थ’ बनेका छन् । वासीमले पाकिस्तानका शाहीन शाह अफ्रिदी र नामिबियाका गेरहार्ड इरासमसलाई पछि पार्दै अपरिम महिनाको उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन् ।

वासीम आइसीसीको प्लेयर अफ द मन्थ अवार्ड जित्ने युएईका पहिलो खेलाडी हुन् । वासीमको नेतृत्वमा युएईले एसीसी प्रिमियर कप जितेर अर्को बर्ष हुने एशिया कपमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

अप्रिलमा आयोजना भएको एसीसी पुरुष प्रिमियर कपमा ३० वर्षीय वासिम कुवेतविरुद्ध पहिलो बलमा शून्य रनमा आउट भएका थिए। तर, त्यसपछिका तीन खेलमा यूएईको ब्याटिङ अर्डरको शीर्ष स्थानमा उनले राम्रो प्रदर्शन गरे।

उनले ६५, ४५ र ४८ रनको इनिङ्स खेलेका थिए। वासिमले एसीसी प्रिमियर कपको फाइनलमा ओमानविरुद्ध करिअरको तेस्रो टी–२०आई शतक प्रहार गर्दै यूएईलाई उपाधि जिताएका थिए। उनले शतक पूरा गर्नेक्रममा ६ चौका र १ छक्का प्रहार गरे।

सन् २०२१ को अक्टोबरमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेदेखि नै वासिम यूएईको ब्याटिङ अर्डरको एक महत्त्वपूर्ण घटक हुन्। एक दिवसीय क्रिकेटमा ९१ को स्ट्राइक रेटमा उनले १ हजार २८९ रन बनाएका छन्। उनी एक दिवसीय क्रिकेटमा आफ्नो टिमका लागि तेस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन्।

खेलको सबैभन्दा छोटो ढाँचामा उनले आफ्नो प्रदर्शनमा अझ सुधार गरेका छन्। टी–२० आईमा यूएईका लागि ४० को औसत र १५४.६९ को स्ट्राइक रेटमा उनले १ हजार ९७७ रन बनाएका छन्।