सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने क्यानमा सहमति, कहिले जान्छन् विश्वकप खेल्न?

Image

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई आइसिसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै सन्दीपले विश्वकप खेल्न पाउने भएका हुन् ।

विश्वकपमा २५ मे सम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्ने आइसिसीको नियम छ । सन्दीपलाई विश्वकपमा पठाउनका लागि अन्तिम १५ बाट एकजना हटाउनुपर्छ ।  कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईले कसलाई हटाउने निर्णय गर्न पाउँछन् । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ ।

क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार क्यानले सन्दीपको खर्च ब्यहोरेर उनलाई विश्वकपमा पठाउने तयारी गरेकाे बताए। ‘ ‘आजै निलम्बन फुकुवा हुन्छ । त्यसपछि भोलिसम्ममा प्राविधिक पाटोहरू मिलाएर सन्दीपलाई अमेरिका पठाउनेछौँ।’ उनले भने, ‘ हामी शतप्रतिशत सन्दीपलाई खेल्न पठाउँछौँ ।’

आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन् ।

नवौँ विश्वकपका लागि टोली घोषणा गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मे १ तारिखसम्मको समय दिएको थियो । सोही अनुसार, नेपाल क्रिकेट संघ (क्यान) ले पनि १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।

अदालतबाट सफाइ पाएसँगै सन्दीपले आगामी टी–२० विश्वकप खेल्न पाउने सम्भावना कायम छ । सहभागी टोलीहरूले विश्वकपका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसके पनि उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न सकिने अवस्था कायमै छ ।

आईसीसीले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर आफ्नो टोलीमा हेरफेर गर्न मे २४ तारिखसम्मको समय दिएको छ । त्यसैले त्यो समयभित्र हरेक राष्ट्रले आफ्नो टोलीमा परिवर्तन गर्न सक्ने सम्भावना रहन्छ ।

गौशाला–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध जाहेरी दिएकी थिइन्।

सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । लामिछाने त्यस विरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् ।