दोस्रो अभ्यास खेलमा नेपाल टस जितेर ब्याटिङ गर्दै, प्लेइङ-११ मा दुई परिवर्तन

Image

काठमाडौं । विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको दोस्रो अभ्यास खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका सागर ढकाल र करण केसी टोलीबाट बाहिरिएका छन् भने ललित राजवंशी र अविनाश बोहोरा प्लेइङ-११ मा अटाएका छन् । पहिलो खेलमा बाहिर रहेका कुशल मल्ल र कमल सिंह ऐरी भने आज समेत बाहिर रहेका छन्।

पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । एक समय १४.२ ओेभरमा ११८/६ को अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि सोमपाल र दीपेन्द्रले ९७ रनको आक्रामक जित दिलाएका थिए । अन्तिम २ ओभरमा ३८ रन चाहिंदा दीपेन्द्र र सोमपालले आक्रामक ब्याटिङका साथ जित पक्का गरे ।

जितका लागि अन्तिम दुई ओभरमा नेपाललाई ३८ रन आवश्यक थियो । त्यस अवस्थामा दीपेन्द्रले अघिल्लो ओभरमा चार छक्का मद्दतमा २६ रन थपेर खेललाई सहज अवस्थामा फर्काए । र, अन्तिम ओभरको तीन बलमा सोमपालले एक छक्का, २ रन र एक चौका प्रहार गरेपछि नेपाल तीन बल बाँकी हुँदै लक्ष्य भेटाउन सफल भयो । नेपालका अन्य ब्याटर अनिलकुमार साह, रोहित पौडेल, सन्दीप जोरा र गुलशन झा सस्तैमा आउट भए ।

त्यसअघि पार्क हिल प्लेइङ फिल्डमा टस हारेर ब्याटिङ गरेको भोलक्यानोजले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । नेपालका रोहित पौडेलले तीन र प्रतिश जिसीले एक विकेट लिए थिए ।

सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स मा नेपालले विश्वकपको दुई खेल खेल्दैछ । १८ मेमा आजकै प्रतिद्वन्दी विरुद्ध अन्तिम अभ्यास खेलसँगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।

२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपालले यसअघि सन् २०२२ मा लिग-२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो ।

नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ विश्वकप वार्म अप खेल खेल्नेछ ।

नेपालको प्लेइङ ११: रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, अविनाश बोहोरा, प्रतिश जिसी, ललित राजवंशी