काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।
बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो।
‘नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्यो’, लामिछानेले फेसबुकमा भनेका छन्, ‘दुर्भाग्य! अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।’
क्यानका सदस्य दुर्गा पाठकले पनि सन्दीपको भिसा जारी नभएको खबर प्राप्त भएको जानकारी दिए । उनले भने, ‘सन्दीप आजै अमेरिका जाने तयारी थियो । हामी यसबारेमा थप पहल गर्छौँ ।’
यसअघि बलात्कारसम्बन्धी मुद्दा लागेपछि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । त्यसपछि अमेरिकाले यसअघिको सबै भिसा रद्द गरेकाले उनले भिसाका लागि नयाँ आवेदन दिनु परेको थियो ।
यसअघि उच्च अदालत पाटनले लामिछानेलाई जिल्ला अदालत काठमाडौले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्टाउँदै बुधबार सफाइ दिएको थियो। त्यसपछि उनलाई नेपाल क्रिकेट संघले निलम्बन फुकुवा गर्दै विश्वकपका लागि नेपाली टिममा राख्नका लागि आइसिसीसँग सहमति लिएको थियो। आइसिसीको सहमतिसँगै सन्दीप अमेरिका जान लागेका थिए।
हाल नेपाली टोली विश्वकपको तयारीका अमेरिकामा छ। नेपालले अमेरिका र क्यानडासँग डालासमा दुई वार्मअप खेल खेल्नपछि विश्वकपको औपचारिक खेल खेल्नेछ। टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन्।
विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टोलीलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको हो। चार समूहका शीर्ष २-२ टोली गरी कुल ८ टोली सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टोली सेमिफाइनलमा पुग्नेछन्।
यो पनि : अमेरिकाद्वारा भिसा दिन अस्वीकार गरेपछी सन्दीपलाई लिएर पारस दूतावासमा
यो पनि : अमेरिकी दूतावासले ५ वर्षअघि पनि यसै गरी रोकेको थियो सन्दीपको भिसा

















