काठमाडौं । आइसीसी टी–२० विश्वकप अघिका वार्म अप खेल आजदेखि शुरु हुँदैछन् । आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दैछ । अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९ः १५ बजेदेखि शुरु हुँदैछ ।
क्यानडासँग खेल्नुअघि नेपालले अमेरिकाको स्थानीय क्लब ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास म्याच खेलेको थियो । उक्त दुवै अभ्यास खेलमा नेपाल विजयी भएको थियो । नेपाली टिम अब क्यानडाविरुद्ध पनि जित निकाल्दै अपराजित रहन चाहन्छ ।
नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपाल ८ विकेटले जितेको थियो । आइसीसीको टी–२० वरियतामा नेपाल १७ औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ ।
यो पनि : दीपेन्द्रले विश्वकपको वार्मअप खेल खेल्ने सम्भावना कति ? यस्तो भन्छन् कप्तान रोहितकुमार पौडेल
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकपमा सहभागी सबै २० टोलीलाई अमेरिका र वेस्ट इन्डिजमा गरी २–२ अभ्यास खेलको व्यवस्था मिलाइदिएको छ, त्यसअनुरुप नेपालले सोमबार क्यानडा र तीन दिनपछि अमेरिकासँग खेल्ने छ । पहिलो दिनको अभ्यासमा ओमानले पपुवा न्युगिनी र नामिबियाले युगान्डासँग खेल्ने छ ।
मंगलबार श्रीलंका र नेदरल्यान्ड्स, बंगलादेश र अमेरिका, अस्ट्रेलिया र नामिबिया, बुधबार अफगानिस्तान र ओमान विश्वकपअघि अभ्यास खेल जुट्ने छन् । नेपालले दुवै खेल डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा खेल्ने छ । नेपालले यही मैदानमा जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेलेर ट्वान्टी–२० विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि अमेरिकाकै फ्लोरिडामा श्रीलंकासँग जुन ११ मा तथा वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्ने छ ।
क्यानडाविरुद्ध नेपालले सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर),अनिलकुमार साह, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा र ललितनारायण राजवंशी ।














