काठमाडौँ । युवा तथा खेलकुदमन्त्री मन्त्री विराजभक्त श्रेष्ठ कीर्तिपुरस्थित क्रिकेट रंगशालामा निरीक्षणका लागि पुगेका छन् । मन्त्री श्रेष्ठसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का पनि उपस्थित थिए ।
बिहीबार त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्टले सन्दीप लामिछानेसँग छोटो भेटवार्ता गरेका हुन्। मन्त्री श्रेष्ठ अनुगमनका लागि पुग्दा सन्दीप मैदानमा अभ्यास खेल खेलिरहेका थिए।
लामिछानेसँग भेटेर उनले आशावादी रहन आग्रह गरे । बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएसँगै लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्ने क्यानको तयारी थियो । तर, अमेरिकाले भिसा नदिँदा सन्दीप अमेरिका जान पाएनन् ।
विश्वकपको भिसा दिन अमेरिकी दूतावासले अस्वीकार गरेको प्रसंगमा उनले आफूहरूले सक्दो प्रयास गरिरहेको जानकारी गराए। ‘हामीले गर्ने शतप्रतिशत गरेका छौँ, उताबाट अलिक हुन सकेको छैन,’ उनले सन्दीपलाई भने, ‘यहाँ भइदिएको भए हामीले नै यो गर्नु, उ गर्नु भनेर भन्न पाइन्थ्यो। त्यसका फेरि अरु धेरै कुटनीतिक मर्यादाहरू हुन्छन्।’
उनले आफ्नै अघि परराष्ट्रमन्त्रीले पटक पटक भिसा प्रयासका लागि समन्वय गरेको जानकारी पनि सन्दीपलाई गराए। ‘मेरै अगाडि पटक पटक परराष्ट्रमन्त्रीज्यूले मन्वयका लागि भन्नुभएको छ,’ मन्त्री श्रेष्ठले अघि भने, ‘अरु केही भयो भने कल मी!
नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिँदैछ। विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले पनि नोट लेखिसकेको छ। भिसा मिलेको खण्डमा सन्दीप आजै राति अमेरिका उड्ने छन्।














