काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि अस्वीकार गरेको छ । बिहीबार काठमाडौंस्थित अमेरिकी दूतावासमा सन्दीप भिसाका लागि अन्तर्वार्ता दिन गएका थिए । तर, उनलाई दूतावासले भिसा दिएन ।
यसअघि पनि उनले भिसा पाएका थिएनन् । त्यसपछि भिसाका लागि परराष्ट्र मन्त्रालयले नै पहल गरेको थियो । तर पनि उनलाई भिसा दिइएन। दूतावासको निर्णयपछि अब के गर्ने भन्ने विषयमा पदाधिकारीहरूबीच छलफल भइरहेको नेपाल क्रिकेट सङ्घ (क्यान)का कार्यकारी सदस्य दुर्गाराज पाठकले बताए।
एक किशोरीसँग जबरजस्ती करणी गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेपछि उनलाई क्यानले निलम्बन गरेको थियो। तर केही साताअघि उच्च अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो। निलम्बन फुकुवा भएपछि लामिछानेले अमेरिकाको भिसाका लागि आवेदन दिँदा गत साता दूतावासले उनको आवेदन अस्वीकृत गरिदिएको थियो।
त्यसपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् उनलाई भिसा दिलाउन पहल गरिने बताएका थिए। तर अमेरिकी दूतावासले भने भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भन्दै लामिछानेले भिसा नपाएको विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको थियो।
लामिछानेले पुनरावेदन गर्दै गर्दा क्यानले मे २५ मा १५-सदस्यीय टोलीको अन्तिम सूची दर्ता गर्नुपर्ने थियो। तर लेगस्पिनर लामिछानेको भिसा लाग्ने विश्वासमा क्यानले हाल १४ खेलाडीको नाम भएको सूची मात्र बुझाएको बताइएको छ।
लामिछानेले भिसा पाएपछि उनको नाम टोलीमा समावेश गरिने र टोलीसँगै अमेरिकामा रहेका एक खेलाडी वैकल्पिक सूचीमा राख्ने क्यानको योजना थियो।
हाल नेपाली टोलीमा स्पिनरहरू ललितनारायण राजवंशी, सागर ढकाल छन् भने तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, गुलशन झा र प्रतीश जीसी छन्। त्यस्तै ‘पार्टटाइम’ स्पिनरहरूमा दीपेन्द्र सिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल र कुशल भुर्तेल छन्।
सन्दीपलाई नेपाली टिममा सहभागी गराउनकै लागि नेपाल क्रिकेट संघ (क्यान) ले हालसम्म विश्वकप खेल्ने १५ सदस्यीय टिमको नाम सार्वजनिक गरेको छैन ।
यो पनि : अमेरिकाले सन्दीपलाई भिसा दिन फेरि गर्यो अस्वीकार

















