काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । समुह डी मा रहेको नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ ।
आइसीसीको टी-२० वरियतामा नेपाल १७औं स्थानमा छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म १२ टी-२० खेल भएका छन् । जसमा नेदरल्याण्डसले ६ खेलमा जित हासिल गरेको छ भने नेपालले ५ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको थिएन ।
त्यस्तै नेपालले भने १० बर्षपछि टी-२० विश्वकपमा कम ब्याक गरेको छ । नेपालले यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जितेपनि बंगलादेशसँग पराजित हुदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।
यस्तै, क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना भएको टी–२० विश्वकप अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । त्यसअघि सन्दीपले नेपाली टोलीलाई शुभकामना दिएका हुन् ।
भिसा प्रक्रियाका कारण अमेरिका जान नपाएका सन्दीपले सामाजिक सञ्जालमार्फत भनेका छन् – ‘साथीहरुलाई यो अद्भुत क्षणलाई मेरो शुभकामना । आगामी रोमाञ्चक यात्राको लागि सम्पूर्ण टिमलाई मेरो शुभकामना । आफ्नो उत्कृष्ट दिनुहोस् र विश्वभरका सबै नेपालीहरूलाई गर्व गर्नुहोस् । जय नेपाल ।’
अमेरिकाबाट भिसा पाउन नसकेपछि सन्दीपले विश्वकप गुमाएका थिए । नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको यात्रा सुरु गर्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल राति ९ः१५ बजे सुरु हुनेछ ।
टी-२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् । विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
नेपाली टिम : कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी

















