यी हुन् सुपर ८ मध्ये टुङ्गो लागेका सात टोली

Image

काठमाडौँ । टी–२० विश्वकपमा समूह चरणका खेलहरू अन्तिम चरणमा पुगेसँगै सुपर ८ मा पुग्ने टोलीहरूको टुङ्गो लागेको छ । हालसम्म सुपर ८ का आठ टोलीमध्ये सात वटाको टुङ्गो लागिसकेको छ ।

समूह ‘ए’ बाट भारत समूह विजेता बन्दै अर्को चरणमा प्रवेश गरेको हो । यो समूहबाट अमेरिका उपविजेता बन्दै सुपर ८ मा स्थान बनाउन सफल भएको छ । यस समूहबाट बलियो टोली पाकिस्तान, क्यानडा र आयरल्यान्ड समूह चरणबाटै बाहिरिन पुगेका छन् ।

त्यस्तै, समूह ‘बी’ बाट समूह विजेता बनेको अस्ट्रेलिया र उपविजेता बनेको इंग्ल्यान्ड सुपर ८ मा प्रवेश गरेका छन् । यही समूहबाट स्कटल्यान्ड, नामिबिया ओमान बाहिरिएका छन् ।

समूह ‘सी’ मा अफगानिस्तान र वेस्ट इन्डिजले अर्को स्थान पक्का गरे पनि समूह विजेता को बन्ने चाहिँ टुङ्गो लाग्न बाँकी छ । शीर्ष दुई टोली मंगलबार एक अर्कासँग आमनेसामने हुँदैछन् । यस खेलले को विजेता र को उपविजेता बन्ने टुङ्गो लाग्नेछ । यो समूहबाट न्युजिल्यान्ड, युगान्डा र पपुवा न्युगिनी समूह चरणबाटै बाहिरिएका छन् ।

नेपालसमेत रहेको समूह ‘डी’ बाट दक्षिण अफ्रिका अर्को चरणमा पुग्ने टुङ्गो लागेको छ । उपविजेताका रूपमा सुपर ८ मा पुग्नका लागि बंगलादेशसँगै नेदरल्यान्ड्सको पनि सम्भावना बाँकी छ ।

सोमबार हुने नेपाल र बंगलादेश तथा श्रीलंका र नेदरल्यान्ड्सबिचको खेलले उपविजेताको टुङ्गो लाग्नेछ । यो समूहबाट नेपाल र श्रीलंका भने बाहिरिइसकेका छन् । सुपर ८ चरणका खेलहरू असार ५ गतेदेखि सुरु हुनेछ । यस चरणको पहिलो खेलमा अमेरिकाले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।