विश्वकपमा अष्ट्रेलियाविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

Image

काठमाडौँ । नवौं संस्करणको टी-२० विश्वकपमा समूह एकको अफगानिस्तानले अस्ट्रेलियामाथि ऐतिहासिक जित निकालेको छ । क्रिकेट इतिहासमा अफगानिस्तानले पहिलोपटक अस्ट्रेलियालाई हराउन सफल भएको हो ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भेल क्रिकेट स्टेडियममा अफगानिस्तानले २१ रनको जित हात पारेको हो । अफगानिस्तानले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ दशमलब २ ओभरमा अल आउट हुदै १ सय २७ रन मात्र बनाउन सक्यो ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४१ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५९ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान मिचेल मार्शले १२ तथा मार्कश स्टोईनेसले ११ रन बनाए । अफगानिस्तानका लागि गुलबदीन नईबले चार तथा नभिन उल हकले तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।

अफगानिस्तानका लागि ओपनरद्वय रहमनुउल्लाह गुर्वाज र इब्राहिम जार्दानले अर्धशतकीय ईनिङ खेले । गुर्वाजले ४९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ६० तथा जार्दानले ४८ बलमा ५१ रन बनाए । पहिलो विकेटका लागि गुर्वाज र जार्दानले १ सय १८ रनको साझेदारी गरेका थिए ।

करिम जन्नतले ९ बलमा १३ रन बनाए । अस्ट्रेलियाका लागि प्याट कमिसंले लगातार दोस्रो खेलमा ह्याट्रिक सहित तीन तथा एडम जाम्पाले दुई विकेट लिए । मार्कस स्टोईनेसले एक विकेट लिए ।

जितसँगै अफगानिस्तानले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । पराजित अस्ट्रेलियाको पनि सेमिफाइनल सम्भावना कायमै छ ।