Khabar Board

अभिषेक शर्माको कीर्तिमानी शतकमा भारतको सानदार जित

काठमाडौं । अभिषेक शर्माले भारतका लागि टी–२० अन्तर्राष्ट्रिय तेस्रो चाँडो शतक बनाउँदा टोलीले जिम्बाब्वेमाथि सहज जित हासिल गरेको छ । आइतबार भएको खेलमा भारत १ सय रनले विजयी बनेको हो ।

भारतले प्रस्तुत गरेको २ सय ३५ रनको लक्ष्य पछ्याउँदा जिम्बाब्वे १८.४ ओभरमा १ सय ३४ रन बनाउँदै अलआउट हुन पुग्यो । जिम्बाब्वेका लागि वेस्ली मधेभेरेले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ३९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै, लुक जोङ्वेले २६ बलमा ३३ रन बनाए भने ब्रायन बेनेटले विस्फोट इनिङ्स खेल्दै मात्र ९ बलमा २६ रन जोडे । भारतका लागि मुकेश कुमार र अभेष खानले ३–३ विकेट हात पारे । रवि विश्नोईले २ तथा वासिङ्टन सुन्दरले १ विकेट लिए ।

यसअघि अभिषेक शर्माले ४७ बलमा शतक प्रहार गरेपछि भारतले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय ३४ को विशाल योगफल तयार गरेको थियो । १ सय रन बनाएर आउट हुनुअघि शर्माले आफ्नो इनिङ्समा ७ चौका र ८ छक्का हिर्काए । उनले लगातार तीन छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।

उनीभन्दा चाँडो सन् २०१७ मा रोहित शर्माले ३५ बलमा र सन् २०२३ मा सूर्यकुमार यादवले ४५ बलमा शतक बनाएका थिए । दुवै खेलाडीले श्रीलंकाविरुद्ध यो उपलब्धि हासिल गरेका थिए । केएल राहुलले पनि सन् २०१७ मा वेस्ट इन्डिजविरुद्ध ४६ बलमा शतक बनाएका थिए ।

शर्मालाई रुतुराज गायकवाडले ४७ बलमा ७७ रन बनाउँदै राम्रो साथ दिए । उनले आफ्नो इनिङ्समा ११ चौका र १ छक्का प्रहार गरे । रिंकु सिंहले तीव्र गतिमा रन बनाउँदै २२ बलमा ४८ रन जोडे । उनले २ चौका र ५ छक्का हिर्काए ।

जिम्बाब्वेका लागि ब्लेसिङ मुजराबानी र वेलिङटन मसाकाड्जाले १–१ विकेट लिए । भारत पहिलो खेलमा जिम्बाब्वेसँग १३ रनले पराजित भएको थियो । योसँगै ५ खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । अब तेस्रो खेल बुधबार खेलिनेछ ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.