गौतम गम्भीरको पहिलो जिम्मेवारीमै भारतले जित्यो एक खेल अगावै सिरिज

Image

काठमाडौं । गौतम गम्भीरले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको पहिलो सिरिजमै भारत विजयी भएको छ । भारतले श्रीलंका विरुद्ध तीन खेलको टि-ट्वान्टी शृंखला एक खेल अगावै जितेको हो ।

सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा पुगेको भारतले आइतबार वर्षाका कारण अवरुद्ध भएको खेलमा डिएलएस (डकवर्थ-लुइस-स्टर्न) पद्धतिमा दोस्रो खेल ७ विकेटको जित निकालेको हो।

वर्षाले प्रभावित खेलमा ८ ओभरमा ७८ रनको लक्ष्य पाएको भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर जित हात पार्यो । भारतका लागि यशस्वी जैसवालले सर्वाधिक ३० रन बनाए ।

यस्तै कप्तान सूर्यकुमार यादवले २६ तथा हार्दिक पन्ड्याले २२ रन जोडे । श्रीलंकाका लागि महिश थिकसना, वाविन्दु हसरंगा र मथिसा पाथीरानाले समान १ विकेट लिए ।

त्यसअघि श्रीलंकाको पाल्लिखेलेमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन बनायो ।

श्रीलंकाका लागि कुशल परेराले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेले । परेराले ३४ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे ।

ओपनर पथुम निशंकाले २४ बलमा ३२, कमान्डु मेन्डिसले २३ बलमा २६ तथा कप्तान चरिथ असलंकाले १४ रन बनाए । भारतका लागि रवि बिष्नोईले ३, हार्दिक पाण्ड्या, अर्शदिप सिंह र अक्षर पटेलले समान २ विकेट लिए ।

भारतले पहिलो टि ट्वान्टी आईमा ४३ रनको जित निकालेको थियो । यो जितसँगै भारत शृङ्खलामा २-० ले अगाडि छ। शृंखलाको तेस्रो खेल मंगलवार हुनेछ । त्यसपछि यी दुई टोलीले तीन एक-दिवसीय खेल खेल्नेछन् ।