काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलमै सिमित भएको छ । शनिबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाललाई साबिक विजेता भारतले ४-२ ले पराजित गर्यो ।
भारतलाई जित दिलाउन चिङ्गखम, विशाल यादव, ऋषी सिंह र हिम्नीचुङ्ग लुनकिमले गोल गरे । नेपालका लागि सुवास बमले एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।
खेलको ६३औं मिनेटमा चिङ्खमको गोलमार्फत भारतले अग्रता लिएको थियो। पाँच मिनेटपछि विशालले टोलीको अग्रता दोब्बर बनाए । सुवाले ८२औं मिनेटमा गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तीन मिनेटपछि नै ऋषीले गोल गर्दा भारत ३-१ ले अगाडि बढ्यो ।
निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा मोहम्मद कैफबाट आत्मघाती गोल हुन पुग्दा खेल ३-२ को स्थितिमा आयो । इन्जुरी समयमा हिम्नीचुङ्गले गोल गर्दै भारतको फाइनल यात्रा पक्का गरे ।
नेपाल समूह ‘बी’ को उपविजेता तथा भारत समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेका थिए । भारतले उपाधिका लागि पाकिस्तान र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्देद्ध ।















