काठमाडौं । करण केसी र कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनप्रेरित नेपालले तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा क्यानाडाको हाइप्रोफोमेन्स (एचपी)विरुद्ध १० रनको जित निकालेको छ ।
यससँगै तीन खेलको अभ्यास शुंखला नेपालले २-१ ले आफ्नो पक्षमा पारेको छ । पहिलो खेलमा तीन विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा २० रनको जित निकालेको थियो ।
१८८ रनको लक्ष्य पछ्याएको क्यानडा ४४.५ ओभरमा १७७ रनमा अल आउट भयो । क्यानडाका अली नदिमले ११६ बलमा ७ चौका र ३ छक्कासहित ८५ रनको योगदान दिए ।
नेपालका करण केसीले ९.५ ओभरमा ५५ रन खर्चेर ५ विकेट लिए । सागर ढकालले २, आरिफ शेख, रिजन ढकाल र ललितनारायण राजवंशीले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४८.३ ओभरमा १८७ रनमा अल आउट भयो । नेपालका कुशल भुर्तेलले तल्लोक्रममा ७० बलमा ५ चौकासहित सर्वाधिक ५२ रन बनाए ।
आरिफ शेखले ३९ बलमा ३ चौका र २ छक्कासहित ४० रन जोडे । आसिफ शेख ७, अनिल कुमार साह ६, देव खनाल डक, भीम सार्की ७, दीपेन्द्रसिंह ऐरी ४, अर्जुन साउद १७, कुशल मल्ल ८ र सोमपाल कामी २७ रनमा आउट भए ।