काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप आयोजनाका लागि दशरथ रंगशाला तयार भएको छ । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार प्रतियोगिताका निम्ति रंगशाला तयार रहेको जनाकारी दियो । यस्तै, एन्फाले च्याम्पियनसिपका निम्ति चार करोड ६० हजार ८०० रुपैयाँ खर्च हुन बताएको छ ।
प्रतियोगिता कात्तिक १ देखि १४ गतेसम्म हुने तालिका छ । प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाका सातै देश माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टिमले सहभागिता जनाउँदैछन् । सहभागी टोलीहरुमध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश नेपाल आइसकेको छ भने भारत र भुटानको टीम बुधबारसम्म नेपाल आउने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
प्रतियोगिताको तयारीका लागि २३-सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङ्गको नेतृत्वमा बन्द प्रशिक्षणमा छ । प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाकी भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको प्रवक्ता शाहले जानकारी दिए ।
च्याम्पियनशिपका लागि दशरथ रंगशालालाई पूर्णरुपमा तयार पारिएको एन्फाका प्रतियोगिता निर्देशक सञ्जिव मिश्रले बताए ।
‘यसअघि एएफसीको प्रतियोगिताअन्तर्गत चर्च ब्वाइज युनाइटेड र पारो एफसिबीचको खेलका दौरान मैदानमा देखिएको कमजोरीले साफमा पनि त्यस्तै हुन्छ भन्ने धेरैको चिन्ता छ । तर, यसपटक प्रतियोगिताका निम्ति मैदानलाई उत्कृष्ट रुपमा तयार पारिएको छ । अब मैदानमा त्यस्तो हुँदैन भन्ने विश्वास छ,’ मिश्रले भने ।
च्याम्पियनसिपमा सहभागी सात टोली दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स छन् । प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २ गते भुटानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा ६ गते माल्दिभ्स र तेस्रो खेलमा कात्तिक ८ गते श्रीलंकासँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल कात्तिक १४ गते हुने एन्फाले जनाएको छ ।