काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । नेपालले घरेलु टोली अमेरिकालाई पहिलो ट्वान्टी २० खेलमा १७ रनले पराजित गरेको छ ।
शुक्रबार बिहान डालासमा भएको खेलमा अमेरिका नेपालविरुद्ध ब्याटिङ र बलिङतर्फ नै कमजोर प्रदर्शन गर्नपुग्यो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमै समेटियो । अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।
अमेरिकाका लागि शायनले अविवित ६० रन बनाउँदा आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनांक पटेल र आरोन जोन्सले तीन/तीन र सैतेजा मुक्कामल्ला २ रनमा आउट भए ।
हरमीत सिंह दीपेन्द्रसिंहबाट शून्य रनमै एलबीडब्ल्यु आउट भए । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले एक/एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले १ छक्का र चार चौकाको मद्दतमा ४९ रनको योगदान गरे ।
नेपालका दीपेन्द्रसिंह ऐरीले १ छक्का र २ चौकासहित २८, ओपनर अनिल शाह र आसिफ शेखले समान २७/२७, गुल्शन झाले ११, कुशल भुर्तेलले १० र सोमपाल कामीले २ रन जोडे । करन केसी र आरिफ शेख शून्य रनमा आउट भए ।
अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । जसदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर २ तथा अली खान र नोष्थुश केंजिगेले समान एक/एक विकेट लिए ।
अमेरिका र नेपालबीच तीन ट्वान्टी २० खेल आयोजना हुँनेछन् । त्यसपछि दुबै टोली आईसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा सहभागी हुनेछन् । लिग २ को शृंखलामा नेपाल र अमेरिकासहित साविक च्याम्पियन स्कटल्यान्ड हुनेछ । अब, दोस्रो खेल आइतबार बिहान हुनेछ ।