Khabar Board

साफ च्याम्पियनसिप : नेपालविरुद्ध भुटानको ऐतिहासिक बराबरी

काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग ऐतिहासिक बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो । साफ च्याम्पियनसिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी हो ।

पछिल्लो पटक घरेलु मैदानमा नै भएको भेटमा नेपालले भुटानमाथि ४–० को फराकिलो जित दर्ता गरेको थियो। यस्तै २०१९ मा नेपालले भुटानमाथि ३–० को जित निकालेको थियो। सन् २०१६ र २०१४ मा नेपालले ८–० को फराकिलो जित निकालेको थियो।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शुक्रबारको दोस्रो खेलमा नेपालले सुरुवातदेखि नै भुटानलाई दबाबमा राखेपनि फिनिसिङ लाइन भने कमजोर देखियो। भुटानविरुद्धको खेलमा टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाको अभाव खड्कीएको थियो।

खेलको दोस्रो हाफमा मिडफिल्डर सरु लिम्बुको स्थान लिदै मैदान छिरेकी रेखा पौडेलले पाएको अवसरलाई सदुपयोग गर्न सकिनन्। खेलको ५९ औँ मिनेटमा सविता रानामगरले डिबक्स नजिकबाट गरेको प्रहार भुटानकी गोलरक्षकले सहजै जोगाइन्।

खेलको ५२ औँ मिनेटमा दिपा शाहीको कर्नरमा रेखा पौडेको प्रहार भुटानकी डिफेन्डर जमयाङ छोदेनले गोललाईनबाट क्लीयर गरिन्। लगत्तै रेखा पौडेलको प्रहार पनि विफल पारिन्।

खेलको ८४ औँ मिनेटमा सविताको प्रहार भुटानकी गोलरक्षकले पन्च गर्दै जोगाइन्। खेलको ५६ औँ मिनेटमा प्रिती राईको प्रहार भुटानकी गोलरक्षकले जोगाईन्।

पहिलो हाफको १३ औँ मिनेटमा रश्मी कुमारी घिसिङ आक्रमणमा ढिलाइ गर्न पुगिन्। १७ औँ मिनेटमा सविता रानामगरको क्रसमा प्रिती राईको फितलो प्रहार सेकेण्डबारको नजिकबाट बाहिरियो।

२४ औँ मिनेटमा रश्मी कुमारी घिसिङको प्रहार क्रसबमाथिबाट आकाशियो। २६ औँ मिनेटमा सरु लिम्बुको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउने सुन्दर मौका गुमायो। खेलको ४० औँ मिनेटमा भुटानको बलियो डिफेन्स लाईन नेपालका खेलाडीले तोड्न सकेनन्।

यो बराबरीपछि समुह बी मा नेपाल र भुटानले एक एक अंक हासिल गरेका छन् । अब नेपालले अर्को खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्ने छ भने भुटानले सोमबार नै श्रीलंकाको सामना गर्ने छ । समुह बी मा श्रीलंकाले आजै भएको खेलमा माल्दिभ्सलाई १-० ले पराजित गर्दै ३ अंक बटुलेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.