Khabar Board

नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुरले गरे सन्न्यास घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले सन्न्यास घोषणा गरेका छन् । श्रेष्ठले आईतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो पोष्ट गर्दै सन्न्यासको घोषणा गरेका हुन् ।

त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर ९ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका थिए । २७ वर्षीय ओपन स्पाइकरले यसअघि राष्ट्रिय बीच भलिबल टोलीको कप्तानी गर्दै सफलता पनि दिलाएको अनुभव रहेको छ ।  उनले यसअघि आर्मीको कप्तानी पनि गरिसकेका छन् ।

नेपालले गत वर्ष मानबहादुरकै कप्तानीमा १९ औं एसियाली खेलकुदमा भाग लिएको थियो।

सन् २०१७ मा नेपालको पुरुष टिमले एभिसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबलमा तेस्रो हुँदै कांस्य जित्दा मान बहादुर टिमका सदस्य थिए । उनले गत वर्ष चीनमा भएको १९ औ एसियाडबाट नेपालको कप्तानी सम्हालेका थिए। मानबहादुर दुई पटक एसियाड खेल्ने दुई खेलाडी मध्ये एक हुन् ।

‘मैले राष्ट्रिय भलिबल टिमको कप्तान पद त्याग्ने र राष्ट्रिय टिमको खेलाडीबाट अवकाश लिने निर्णय लिएको छु । यो निर्णय लिन सजिलो त थिएन तर अब आउने नयाँ पुस्ताका लागि मार्ग प्रस्तु गर्नका लागि निर्णय लिएको हुँ।’ मानबहादुरले भिडियोमा भनेका छन् ।

२७ वर्षीय मान बहादुरले नेपालका लागि अन्तर्राष्ट्रिय बीच भलिबल समेत खेलेका छन् । मानबहादुर १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको राष्ट्रिय बीच भलिबल टोलीका कप्तान थिए । उनले गत वर्ष र यो वर्ष साउनमा बीच भलिबलकै कप्तानी गर्दै काभा बीच भलिबलमा नेपाललाई रजत पदक जितेका थिए । मानबहादुर राष्ट्रिय पुरुष भलिबल टोलीको ११ औं कप्तान थिए।

राष्ट्रिय भलिबल टोलीका कप्तानहरु

१. ऋषिराज आचार्य २०३३ (काइदे आजाम पाकिस्तान–१९७६)

२. दीपक सापकोटा २०३५ (आठौ एसियाली खेलकुद–थाइल्यान्ड)

३. महेन्द्रलाल श्रेष्ठ

४. राजेश मास्के

५. सुनिल चौधरी

६. विष्णु मास्के

७. भरत शाह (२०५२) (१९९९– ११औं साफ सम्म)

८. कैलाश दत्त भट्ट २०६७ देखि २०७१ सम्म)

९. इम बहादुर राना २०७२

१०. हरिहजुर थापा (२०८० जेठदेखि २०८० असार)

११. मान बहादुर श्रेष्ठ (२०८० साउनदेखि २०८१ कात्तिक)

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.