काठमाडौं । तेस्रो तथा अन्तिम टी-२० आई खेलमा नेपाललाई अमेरिकाले १५७ रनको लक्ष्य दिएको छ । अमेरिकाको ग्राण्ड प्रेरीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनाएको हो ।
अमेरिकाका लागि साईतेजा मुककामल्लाले ५० बलमा ५ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । मुककामल्ला अर्धशतक बनाएर सोमपाल कामीको बलमा बोल्ड आउट भए । चौथो विकेटका लागि मुककामल्ला र मिलान्ड कुमारले ७६ रनको साझेदारी गरेका थिए ।
कुमारले ३५ बलमा ४ चौकाको सहयोगमा नट आउट ४३ रन बनाए । अमेरिका कप्तान मोनांक पटेल २ रन बनाउँदै सोमपाल कामीको बलमा एलबिडब्लु धरापमा परे । हर्मित सिंह १० रनमा नट आउट रहे ।
नेपालका लागि सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए । अन्तिम टि ट्वान्टी आईमा अमेरिकालाई पराजित गरि नेपाल दोस्रो पटक सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा रहेको छ ।
नेपालले अमेरिकासँगको सिरिज भने एक खेल अगावै आइतवार नै जितिसकेको छ । पहिलो टि ट्वान्टी आईमा १७ रनले जित हात पारेको नेपालले दोस्रो खेल सुपर ओभरमा जितेको थियो । यो टि ट्वान्टी सिरिज पछि नेपाली टोलीले अमेरिका ए सँग ५० ओभरको अभ्यास खेल खेल्नेछ।
कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।