काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले बिहीबार श्रीलंकालाई ६-० ले पराजित गर्दै समूह बी को विजेता बनेर सेमिफाइनल पुग्यो । खेलपछि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पहिलो हाफमा सुरुमै गोल निस्कँदा सजिलो भएको बताए ।
‘पहिलो हाफमा सायमै गोल हुँदा सजिलो भयो । नभए गाह्रो हुने थियो । दोस्रो हाफमा श्रीलंकाले डिफेन्स बलियो बनाएर खेल्यो’, तामाङले पोष्ट म्याच कन्फ्रेन्समा भने ।
नेपालले खेलको १३ मिनेट भित्रै ३ गोल गरेको थियो भने पहिलो हाफमा चार गोल गरेको थियो । दोस्रो हाफको पनि दोस्रो मिनेटमै गोल गरेको नेपालले अन्तिम गोल गर्न इन्जुरी टाइम कुर्नुपरेको थियो ।
दोस्रो हाफमा नेपालले लगातार आक्रमण बनाए पनि श्रीलंकाली डिफेन्स र गोलकिपर बाधक बनिरहे । नेपाल समूह विजेता बन्न ६-० को जित चाहिएको थियो र अन्तिममा रश्मीकुमारी घिसिङले गोल गरेपछि नेपालले सोही नतिजा निकाल्यो ।
‘हामीलाई समूह विजेता बन्न ६ गोल चाहिएको थियो र अन्तिममा रश्मीले गोल गरेपछि फाइदा भयो’, तामाङले भने । श्रीलंकाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै प्लेअर अफ दि म्याच बनेकी सबिनता राना मगरले पनि सुरुमा गोल हुँदा सहज भएको बताइन् । ‘सुरुमा गोल भएर राम्रो भयो । हामीले पाच गोल गरेपछि अली गाह्रो भएको थियो’, सविताले भनिन् ।
प्रशिक्षक तामाङले अट्याकिङ थर्डमा जोड दिएर खेलेको तर सावित्रालाई विपक्षीले मार्क गरेपछि तल झरेको खेलेको बताए । ‘सावित्राले आज राम्रो खेल्न सकेन । विपक्षीले पुरै मार्क गरे । अनि उसले पनि तल झरेर खेल्छु भन्यो । हामीले सोही अनुसार गर्यो ।’
समूह विजेता बनेर सेमिफाइनल जाँदा आत्मविश्वास बढ्ने पनि तामाङले बताए । ‘हामीलाई समूह विजेता बनेर जाँदा आत्मविश्वास पनि बढ्ने भएको समूह विजेता बन्न खोजेको हो’, उनले भने ।
अब नेपालले सेमिफाइनलमा समूह ए को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । यो पछिल्लो पटक २०२२ मा काठमाडौंमै भएको साफको एक्सन रिप्ले जस्तै हुनेछ ।
त्यसबेला पनि नेपाल र भारत सेमिफाइनलमा भेट हादा नेपाल १-० ले विजयी भएको थियो । त्यसअघि नेपाल भारतसँग साफमा चार पटक फाइनल र एक पटक सेमिफाइनलमा पराजित भएको थियो । प्रशिक्षक तामाङले अब विगत हेर्ने भन्दा पनि आउने म्याचका लागि तयारी गर्नुपर्ने बताए ।
उनले भारतसँग खेल्ने पक्का भएपछि अब भारतको अगाडिको खेलहरु हेरेर टिमलाई तयार पार्ने बताए । ‘अब दुई दिन बाँकी छ । मैदानमा धेरै काम गर्न भ्याउँदैन । हामी भारतको अगाडिको म्याचहरु हेरेर त्यसमा काम गर्नेछौं’, तामाङले भने, ‘सेमिफाइनल जसरी पनि जित्नुपर्छ भन्ने लक्ष्यका लागि आउनेछौँ ।’
तर भारत विरौध खेल्दा नेपाललाई खेलाडीको चोटले भने सताउनेछ । हीराकुमारी भुजेल र दीपा शाही भुटानविरुद्ध पहिलो खेलमै घाइते भए । घुँडाको चोटका कारण उनीहरुले साफबाट बाहिरिसकका छन् ।
दुवैको घुँडाको सफल शल्यक्रिया समेत भइसकेको छ । यस्तै पहिलो खेलमा घाइते भएकी पुजा रानाले त्यसपछि खेलेकी छैनन् । टिममा रहेकी समीक्षा घिमिरेले पनि खेलेकी छैनन् । श्रीलंकाविरुद्ध प्रिति राई घुँडाको केही दुखाइ भएपछि रिप्लेस भइन् । घाइते खेलाडीहरुको सुची बढ्दै जानु पक्कै चिन्ताको विषय बनेको छ । डिफेन्समा हिराबाहेक अन्य दुई खेलाडी पनि पूर्ण फिट नहुँदा प्रशिक्षकले दुई खेलमा ३ जना डिफेन्स मात्र खेलाएका थिए ।
श्रीलंकाविरुद्ध प्रिती राईले सामान्य दुखाइ पनि आफैँ विश्राम गर्न चाहेको र सेमिफाइनलका लागि तयार हुन्छ भनेको प्रशिक्षक तामाङले बताए । पूजा र समीक्षाको हकमा भने उनीहरु अझै पूर्ण फिट नभएको तामाङले स्वीकारे ।
‘समीक्षाको घुँडामा समस्या छ । ट्रेनिङमा पनि राम्रो गर्न सकेको छैन । त्यसैले प्रयोग गर्न सकेको छैन । पुजालाई पहिलो खेलपछि घुँडामा समस्या देखिएको थियो । आजको खेल प्रयोग गर्ने योजना थियो तर खेलको अवस्थाले सकिन ।’
तामाङले टिमबाट बाहिरिसकेको हिरा र दीपाको स्थानमा अन्य खेलाडी रिप्लेस गर्ने सम्भावना कम रहेको बताए । यदि रिप्लेस गर्ने अवसर पाए पनि अहिले त्यो स्तरको खेलाडी नपाइने उनले बताए ।