काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजे हुने फाइनल खेलको टिकट अनलाइनबाट किन्न नपाइने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि टिकट बिक्रीको अधिकार दिएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट प्रालिसँगको टेन्डर रद्द गर्दै आफै टिकट बिक्री गर्ने भएको हो।
एन्फाले बुधबार बिहान चार स्थानबाट टिकट बिक्री गरिने बताएको छ। बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
जसमा जावलाखेल खेल मैदान, एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकालीस्थित आर्मी अफिसियल केन्द्र र रंगशालाबाट टिकट बिक्री गरिनेछ। जसमा साधारणतर्फ ५ सय दरको १० हजार र भिआइपीतर्फ एक हजार दरको एक हजार गरी कुल ११ हजार टिकट बिक्री गरिने एन्फाले बताएको छ।
एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार ११ हजार टिकटमात्र टिकट बिक्री गरिनेछ । जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने उनको भनाइ छ । प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार क्षमता छ । यसअघि अनलाइन टिकट खरिद गरेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।
एन्फाले एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट र जावलाखेल मैदानबाट टिकट बिक्री गरिनेसमेत जानकारी दिएको छ । त्यस्तै एन्फाले टिकटमा पनि सीमितता तोकेको छ । जसअनुसार एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै किन्न पाउनेछन् । साथै एन्फाले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्ने समेत आग्रह गरेको छ ।
आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बेचेको भन्दै एन्फाले टिकट बिक्रीमा रोक लगाएर टिकट बिक्रीको जिम्मा आफैं लिएको हो । एन्फाले माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि सँगको सम्झौता रद्द भएको जानकारी दिदैं उपाध्यक्ष खतिवडाले ३० लाख रुपैयाँ प्राप्त गरेको र ५० लाख रुपैयाँ प्राप्त गर्न बाँकी रहेको बताए ।
एन्फाले ८० लाख रुपैयाँमा माउण्ट एभरेष्टसँग सम्झौता गरेको थियो। माउण्ट एभरेष्टले खल्तीबाट भौतिक रुपमा टिकट विक्री गर्दै आएको थियो। खल्तीबाट फाइनलका लागि विक्री भएको टिकट साधारणतर्फ ४ हजार १ सय तथा भिआइपीतर्फ १ हजार रद्द गरिएको एन्फाले जनाएको छ। सुरक्षालाई ध्यानमा राख्दै एन्फाले केहि बस्तु दशरथ रंगशाला भित्र लान निषेध समेत गरेको छ।
साफ च्याम्पियनसिप फाइनलमा दशरथ रंगशाला प्रवेश प्रतिबन्धित सामग्रीहरू
१. हातहतियार – बन्दुक, छुरा, र अन्य कुनै पनि प्रकारका धारिला, हातहतियार।
२. धुम्रपान र आगो बाल्ने सामग्री – चुरोट, लाइटर, सलाइ आदि।
३.मादक पदार्थ – मदिरा र अन्य नशालु पदार्थहरू।
४. झोला र ठूला ब्यागहरू – साना ब्यागहरू जाँचपछि मात्र अनुमति दिइनेछ, तर ठूला ब्यागहरू निषेध गरिएका छन्।
५. हेल्मेट र सुरक्षात्मक उपकरणहरू – हेल्मेट र यस्तै सुरक्षा सामग्रीहरू।
६. प्रचार सामग्री – अनुमति बिना ब्यानर, झण्डा, पोस्टर आदिमा निषेध।
७. प्रक्षेपण गर्न मिल्ने वस्तुहरू – पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने , धातुका मुद्रा क्याइन , सामग्रीहरू।
८. लेजर लाइट – खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट।
९. ड्रग्स र अन्य अवैध पदार्थ – कुनै पनि प्रकारका लागू औषधहरू।
१०. छाता, लिबिस्टिक, नेल कटर, कैँची, काइयो ।

















