काठमाडौं । विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस जितेको छ । स्कटल्याण्डविरुद्ध अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।
नेपालले सन् २०२७ सम्म चल्ने विश्व कप लिग टु मा ९ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ । हरेक सिरिजमा नेपालले ४ ओडिआई खेल खेल्ने छ । यो नेपालको तेस्रो सिरिजको दोस्रो खेल हो । यसअघि गत आइतवार भएको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।
२ सय ८७ रनको लक्ष्य अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो । स्कटल्याण्डले पनि यस सिरिजमा दोस्रो खेल खेल्दैछ । गत शुक्रवार भएको खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हराएको थियो ।
नेपाल र स्कटल्याण्डबीच हालसम्म छ एकदिवसीय खेल भएका छन् । जसमा दुवै टोलीले समान तीन/तीन खेल जितेका छन् । आगामी सन् २०२७ सम्म चल्ने विश्वकप लिग २ क्रिकेटमा नेपालले नौ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ । जसमा हरेक सिरिजमा नेपालले चार एकदिवसीय खेल खेल्नेछ ।
लिग–२ मा नेपालले ९ खेलमा सात ७ हार, १ मा जित तथा १ खेल रद्द हुँदा ३ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ । यता स्कटल्याण्ड ८ खेलमा पाँच जित दुई हार र एक खेल रद्दसँगै ११ अङ्कका साथ चौथो स्थानमा रहेको छ ।
त्यसैगरी १२ खेल खेलेको क्यानडा आठ खेलमा जित तथा चार खेलमा हार बेहोर्दै १६ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित स्कटल्याण्ड, अमेरिका, क्यानडा, नेदरल्याण्डस्, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी छन् ।
स्कटल्याण्डविरुद्ध नेपालको प्लेइङ–११ : आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, रोहित कुमार पौडेल , आरिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी।















