विश्वकप लिग-२ मा स्कटल्याण्डविरुद्ध नेपालको शानदार जित, सात खेलपछि पहिलो जित

Image

काठमाडौं । आइसिसी विश्वकप लिग-२ मा अन्तत: नेपालले जित निकालेको छ। लगातार सात खेलमा जितविहीन यात्रा टुंग्याउने क्रममा नेपालले बुधबार विहान स्कटल्यान्डमाथि ५ विकेटको जित निकालेको हो।

यसअघि गत फेब्रुअरी १७ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेपछि नेपाल लिग-२ का सात खेलमा जितविहीन बनेको थियो। ७ मध्ये ६ खेलमा नेपाल पराजित हुँदा १ खेल वर्षाका कारण रद्द भएको थियो।

बुधबार नेपालले अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी मैदानमा स्कटल्यान्डले दिएको १५५ रनको सामान्य लक्ष्य ५ विकेको क्षतिमा २९.५ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा आरिफ शेखले ४२ बलमा ८ चौकासहित सर्वाधिक ५० रनको अविजित इनिङ खेले । गुलशन झा ३० बलमा ३ चौका र १ छक्कासहित २५ रनमा नट आउट रहे । छैटौं विकेटलाई यी दुई ब्याटरले ५१ बलमा ५७ रनको साझेदारी गरेका थिए ।

ओपनर अनिल साह १३, आसिफ शेख २१, कुशल मल्ल ७, कुशल भुर्तेल २५ र रोहित कुमार पौडेल १ रनमा आउट भए ।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४१.४ ओभरमा १५४ रनमा अलआउट भयो। उसका लागि मार्क वाटले ४० बलमा ३ छक्कासहित सर्वाधिक ३४ रन बनाए ।

तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पाँचौं बलमा ओपनर चार्ली टिअरलाई स्कटल्यान्डले खाता नखोल्दै बोल्ड आउट गरेका थिए । सोमपाल कामीले आठौं ओभरको अन्तिम बलमा ओपनर एन्ड्रयू उमिदलाई १४ रनमा बोल्ड आउट गरे ।

ब्रेन्डन म्याकमुलेन १२ औं ओभरको पाँचौं बलमा सन्दीप लामिछानेको बलमा १६ रनमा एलबीडब्लू आउट भए । स्कटल्यान्डका कप्तान रिची बेरिंग्टन र माइकल जोन्स समान १९ रनमा आउट भए ।

माइकल लिस्क १४, म्याथ्यु क्रस १५ र ज्याक जार्विस शून्यमा आउट भए । नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए । करण केसी, सोमपाल कामी र गुल्सन झाले २-२ विकेट लिए । आरिफ शेखको नाममा १ विकेट रह्यो ।

नेपाल पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । लिग २ मा नेपाल १० खेलमा २ मा जितसहित पाँच अंकका साथ सातौं स्थानमा छ । नेपालले अव शनिबार अमेरिका र सोमबार स्कटल्यान्डसँग खेल्नेछ ।

स्कटल्यान्ड ९ खेलमा ११ अंकका साथ चौथो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । ८ टोली सहभागी लिग २ मा शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।