काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले आज घरेलु टोली अमेरिकासँग खेल्दैछ। टेक्सासको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति सवा नौ बजे सुरु हुने छ।
लिग टूमा हालसम्म निराशाजनक प्रदर्शन गरे पनि यसै त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले बलियो टोली स्कटल्यान्डलाई ५ विकेटले हराउँदै पुनः लयमा फर्किएको छ।
तर यस त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाललाई अमेरिकाले ३ विकेटले पराजित गरेको थियो। नेपाल सोही हारको बदला लिने लक्ष्यमा हुनेछ।
दोस्रो खेलमा स्कटल्यान्डलाई १ सय ५४ रनमा रोकेको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो। यस खेलमा आरिफ शेखले नेपालका लागि उत्कृष्ट अल राउन्ड प्रदर्शन गरेका थिए। स्कटल्यान्डविरुद्धको पहिलो खेलमा १० विकेट र दोस्रो खेलमा ७१ रनको विशाल अन्तरले पराजित भएको अमेरिकाले घरेलु सिरिजमा राम्रो प्रदर्शन गर्न सकेको छैन।
यस सिरिजअघि नेपालले अमेरिकाविरुद्ध उसकै मैदानमा ३ खेलको टी–ट्वेन्टी आई सिरिज क्लिन स्विप गरेको थियो। दुई टोलीबीच हालसम्म खेलिएका ८ ओडीआईमा नेपालले ४ र अमेरिकाले ३ खेल जितेको छ। एक खेल बिना नतिजा समाप्त भएको छ।
लिग टू अंक तालिकामा नेपाल सातौं स्थानमा छ। टोलीले १० मध्ये २ खेल जित्दै ५ अंक जोडेको छ। अमेरिका ११ खेलमा ७ जितसहित १४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ।















