काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् ।
जारी सिरिजमा नेपालले २ खेलमा एक हार र एक जित हासिल गरेको छ भने अमेरिकाले ३ खेलमा २ हार र एक जित हासिल गरेको छ । अमेरिकाले यस सिरिजमा नेपाललाई पराजित गरेको थियो भने स्कटल्याण्डविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो ।
त्यस्तै अमेरिकाविरुद्ध हार बेहोरेको नेपालले स्कटल्याण्डलाई पराजित गरेको थियो । लिग२ मा अहिलेसम्म अमेरिका ११ खेलमा १४ अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने नेपाल १० खेलमा ५ अंकसहित सातौं स्थानमा छ ।
नेपाल पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । नेपालले आजको खेलमा प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन ।
नेपालको प्लेइङ ११ : आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल(कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने ।















