साना प्रवीणको आक्रामक अर्धसतकमा नेपालले थाइल्यान्डलाई दियो चुनौतीपूर्ण लक्ष्य

Image

काठमाडौं । साना प्रवीणको आक्रामक अर्धसतकमा आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा खेलमा नेपालले थाइल्यान्डलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

युएईको द सेभेन रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । प्रतियोगितामा नेपालले ३ खेलमा २ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालका लागि साना प्रविनले ४६ बलमा ७ चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरिन् । यसैगरी सावित्री धामीले २८ र सोनी पाख्रिनले १९ रन बनाए । साना र सावित्रीले ओपनिङ विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए । तृषना विश्वकर्माले नौ र ज्योत्सनिका मरासिनीले सात रन बनाए ।

थाइल्यान्डका लागि नाथरिका थोकोईले तीन, केसिनी काउजुम्फोलले दुई तथा कुरानित सुवाञ्चोराथीले एक विकेट लिए ।

जारी प्रतियोगितामा नेपाल र थाइल्यान्ड भिड्को यो दोस्रो पटक हो । नेपालले यसअघि थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । त्यस्तै थाइल्याण्डले ३ खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यस प्रतियोगितामा बुधबार कुवेतसँग र विहिबार युएईसँग खेल्ने तालिका रहेको छ ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

यो पनि : थाइल्यान्डविरुद्ध नेपालको सानदार जित, यी खेलाडी बने जितका ‘नायक’