काठमाडौं । युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कपमा नेपाली टोलीकी कप्तान पुजा महतोले कीर्तिमानी शतक पूरा गरेकी छन् । युएईको अजमानमा जारी खेलमा प्रतियोगिताको इतिहासमा नै पहिलो शतक पुजाले ५७ बलमा पूरा गरिन् ।
१८ वर्षीया अनुभवी ब्याट्र पूजाले ५७ बलमा १२ चौकाको मद्दतले आफ्नो शतक पुरा गरेकी हुन् । उनको स्ट्राइक रेट १७५.४४ रहेको छ । १६.२ ओभरमा पूजाले शतक पूरा गर्दा नेपालले केवल दुई विकेट गुमाएर एक सय ६६ रन बनाइसकेको छ । सोनी पाख्रिन २८ रन बनाउँदै क्रिजमा छिन् ।
प्रतियोगिताको दोस्रो संस्करण जारी रहँदा पहिलो शतक बनेको हो । यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोरमा गत आइतवार कुवेतविरुद्ध नै युएईकी लाभन्या केन्याले ९९ रन बनाएकी थिईन् ।















