अन्तिम खेलमा आज युएईसँग भिड्दै नेपाल, यस्तो छ खेल सुरु हुने समय

Image

काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ। यूएईको सेभेन्स स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ ।

प्रतियोगितामा पाँच खेल खेलिसकेको नेपालले चार जित र एक हारको सामना गरेको छ। विश्वकप एसिया छनोटका लागि नेपालले आजको खेलमा यूएइविरुद्ध प्रभावशाली जित निकाल्नुपर्ने दबाब छ।

यो पनि पढ्नुहोस् : नेपालकले यूएईसँग यसरी जितेपछी मात्रै विश्वकपको ढोका खुल्ने

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपाल दोस्रो खेलमा कुवेतमाथि १०८ रनले विजयी भएको थियो। तेस्रो खेलमा आयोजक युएईसँग १३ रनले पराजित भएको नेपालले चौथो खेलमा थाइल्याण्डमाथि १०६ रनको जित निकालेको थियो। पाँचौ खेलमा मंगलबार नेपालले कुवेतविरुद्ध १६५ रनको प्रभावशाली जित निकालेको छ।

पाँच खेल खेल्दा एक हार र चार जितसहित नेपालले ८ अंक जोडेको छ। युएईले भने पाँच खेलमा सबै जित निकाल्दै १० अंक जोडेको छ। थाइल्याण्डले दुई अंक जोडेको छ भने कुवेत अंकबिहीन छ। रनरेटको आधारमासमेत अपराजित युएई अगाडि भएकाले नेपालले आजको प्रतिस्पर्धामा प्रभावशाली जित निकाल्नुपर्नेछ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। यो प्रतियोगितामा सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु-१९ महिला टि-२० विश्वकपका लागि छनोट हुनेछ। यु-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा हुँदैछ।