काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज अन्तिम खेल यूएईसँग खेल्दै छ । विश्वकप छनोटको निर्णायक खेलका रुपमा रहेको यस खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।
यूएईको सेभेन्स स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुने खेल नेपालले रनरेटमा पनि यूएईलाई पछाडि पार्ने गरी जित्न आवश्यक छ । आज हुने खेलमा नेपालले जितेर मात्र पुग्दैन, रनरेटमा पनि अगाडि आउनुपर्ने छ ।
पहिले ब्याटिङ गरेर १४० रन बनाएको अवस्थामा २१ रन वा बढीको अन्तरले खेल जित्नुपर्ने छ । त्यस्तै यूएईले पहिले ब्याटिङ गरेको अवस्थामा नेपालले १६.१ ओभरमा लक्ष्य पूरा गरिसक्नुपर्ने हुन्छ । यीभन्दा कम अन्तरको जीत हासिल गरेपनि नेपाल रनरेटमा पराजित हुँदै दोस्रोमै सीमित रहँदै विश्वकप खेल्नबाट वञ्चित हुने छ ।
हालसम्म अपराजित रहेकको यूएईलाई रनरेटमा समेत पछि पार्दै हराएमा नेपाल पहिलोपटक आइसिसी यु-१९ महिला टी-२० विश्वकपका लागि छनोट हुने छ । यसपटक कप्तान पुजा महतो उत्कृष्ट लयमा देखिएकी छन् । त्यस्तै प्रदर्शन आजको खेलमा अन्य खेलाडीबाट पनि हुन सके नेपाली अन्डर-१९ महिला टोलीले पहिलोपटक विश्वकप खेल्ने छन् ।
पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपाल दोस्रो खेलमा कुवेतमाथि १०८ रनले विजयी भएको थियो। तेस्रो खेलमा आयोजक युएईसँग १३ रनले पराजित भएको नेपालले चौथो खेलमा थाइल्याण्डमाथि १०६ रनको जित निकालेको थियो।
पाँचौ खेलमा मंगलबार नेपालले कुवेतविरुद्ध १६५ रनको प्रभावशाली जित निकालेको थियो। कप्तान पूजा महतोले अविजीत १ सय ३० रनको ऐतिहासिक इनिङस सहित ५ विकेट लिएकी थिइन् ।
यूएईले यसअघि भएको खेलमा नेपाललाई हराएको थियो । ५ खेलमा ५ नै जीत सहित यूएई १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै चार जीत र १ हारसहित ८ अंक जोडेको नेपाल दोस्रोमा छ । थाइल्याण्डले दुई अंक जोडेको छ भने कुवेत अंकबिहीन छ।

















