विश्वकपमा छनोट भएपछि यू–१९ महिला क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए बधाई

Image

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक विश्वकपमा छनोट भएको यू–१९ महिला क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्चालमार्फत महिला टोलीलाई बधाई दिएका हुन् ।

‘महिला क्रिकेटमा नेपालले पहिलो पटक विश्वकप खेल्नेछ बधाई टिम नेपाल’, प्रधानमन्त्री ओलीले भनेका छन् । बुधबार संयुक्त अरब इमिरेट्स (यूएई)को अजमानमा भएको खेलमा आयोजक यूएईमाथि आठ विकेटको ऐतिहासिक जीत निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको हो ।

नेपालले ६ खेलबाट १० अंक जोड्दै विश्वकपमा स्थान सुरक्षित गर्‍यो । त्यस्तै, युएईले पनि समान खेलबाट समान १० अंक जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो । यू–१९ विश्वकप क्रिकेट अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

विश्वकपका साथै नेपाल यू–१९ एसिया कपका लागि पनि छनोट भएको छ । आगामी डिसेम्बरमा हुने यू–१९ महिला एसिया कपका लागि समेत नेपाल छनोट भएको हो ।

यू–१९ एसिया कप क्रिकेटमा नेपालसहित ६ राष्ट्रको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा नेपालसँगै पाकिस्तान, भारत श्रीलंका, बंगलादेश र मलेसिया सहभागी हुनेछन् ।