यसरी सम्भव भयो भारतका स्टार खेलाडीलाई एनपीएलमा अनुबन्ध गर्न, कति रकम पाउँने ?

Image

काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको विषय अहिले नेपाली क्रिकेटप्रेमीमाझ चर्चा भईरहेको छ ।

कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार बिहान भारतीय राष्ट्रिय टिमबाट तीनै क्रिकेट फर्म्याट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

कर्णाली याक्सका टिम मालिक झनकदत्त खनाल र धवनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी सार्वजनिक गरेको छ । सम्झौतामा धवन र कर्णाली याक्सका मालिक झनकदत्त खनालले हस्ताक्षर गरेका छन् ।

धवनसँग खनालले सम्झौता गर्दा भारतका लागि कार्यवहाक राजदूत डा. सुरेन्द्र थापा र कर्णाली याक्सका सह-मालिक गृहेन्द्र घिमिरे उपस्थित थिए ।

कसरी सम्भव भयो सम्झौता ?

धवनसँग सम्झौता गर्न कर्णाली याक्सका मालिक झनकदत्त खनाल र निर्देशक गृहेन्द्र घिमिरे भारत पुगेका थिए । गुडगाउँस्थित धवन बसेको अपार्टमेन्टको २२औं तल्लामा सम्झौता कार्यक्रम भएको घिमिरेले जानकारी दिए । ‘उहाँ एदकमै हम्बल व्यक्ति हुनुहुँदो रहेछ । चिया पिउँदै गफ गर्‍यौँ । मैले कर्णाली याक्सको डल लगेको थिएँ, त्यो लिनुभयो’, घिमिरेले भने ।

नेपाल क्रिकेट टिम (क्यान) र फ्रेन्चाइजहरुको छलफलमा सबै टिमले एउटा राम्रो खेलाडी अनुबन्ध गर्ने विषयमा छलफल भएको थियो । भारत छिमेकी देश र नेपालमा भारतीय क्रिकेट पछ्याउने समर्थक धेरै भएकोले कर्णालीले भारतीय खेलाडी खोजेको थियो ।

‘एउटा भारतीय खेलाडी ल्याउँ भनेर कुरा भएको थियो । सुरुमा क्यानले नै यसको सुरुवात गर्‍यो । त्यसपछि हामीले शिखर धवनसँग विभिन्न चरणमा इमेलमा कुराकानी गर्‍यौँ’,घिमिरेले भने ।

कर्णाली टिमले धवनसम्म पुग्न विभिन्न स्रोतमार्फत प्रयास गरिरहेको थियो । भारतका लागि कार्यवाहक राजदूत सुरेन्द्र थापासँग पनि धवनको विषयमा कुराकानी भएको घिमिरेले बताए । ‘एम्बेसीबाट कुरा जाँदा कर्णाली याक्ससँग हाम्रो कुरा भइरहेको छ भन्नुभएछ । त्यसले पनि ट्रस्ट डेभलपमेन्ट भयो’, घिमिरेले भने ।

अनि मिति तय गरेर धवनसँग सम्झौता गर्न कर्णाली याक्सको टोली भारत गएको थियो । मंगलबार बेलुका धवनसँग सम्झौता गरेर टोली काठमाडौं फर्कियो । घिमिरेले धवनको आगमन नेपाली क्रिकेटमा कोशेढुंगा बन्न सक्ने बताए । धवनले नेपाल आउँदा पशुपतिनाथ दर्शन गर्ने प्रस्ताव राखेका थिए । टिमले उनलाई पशुपति दर्शन र माउन्टेन फ्लाइट पनि गराउने भएको छ ।

घिमिरेले धवनलाई कर्णाली प्रदेशको विभिन्न स्थानको बारेमा जानकारी गराउदै रारामा घुम्ने प्रस्ताव पनि राखेका थिए । ‘रारा पनि घुम्ने प्रस्ताव गरेका छौँ मिल्यो भने यसै पटक घुम्ने कुरा छ । यस पटक नभए अर्को पटक आउँदा रारा, शे-फोक्सुन्डो लगायत कर्णाली क्षेत्र घुम्ने भन्नुभएको छ’, उनले भने ।

यस्तै धवनले पनि एनपीएलमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताउए । उनले भने, ‘नमस्ते नेपाल । म कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेल्न आउँदैछु । सबैजनासँग मिल्न र कुरा गर्न आउँदैछु’, धवनले भिडियो सन्देशमा भनेका छन्, ‘त्यसैले ठूलो खेलका लागि तयार हुनुस् ।’

प्रत्येक खेलबापत ३० हजार डलर पाउने

धवनले नेपाल प्रिमियर लिग (एनपिएल) का प्रत्येक खेलबापत ३० हजार डलर पाउने भएका छन्। उनले कर्णाली याक्सबाट ४ खेल खेल्ने याक्सका लगानीकर्ता गृहेन्द्र घिमिरेले जानकारी दिए। उनी नोभेम्बर २९ तारिखमा नेपाल आउने छन्। धवनले ३० गते बिहान पशुपतिको दर्शन गर्नेछन्। लगत्तै दिउँसो हुने एनपिएल उद्घाटनमा सहभागी हुनेछन्।   धवनले एनपिलएलको पहिलो दिन कुनै खेल खेल्ने छैनन्।

‘पहिलो दिन पूरा समय बसेर क्रिकेट हेर्ने र नेपाली फ्यानहरूसँग कुराकानी गर्ने कार्यक्रम छ,’ घिमिरेले भने, ‘उनले ४ वटा खेल खेल्ने छन्।’धवनले खेल्ने प्रत्येक खेलको ३० हजार डलर (आजको मूल्यअनुसार ४० लाख ५० हजार) पाउने सम्झौता भएको उनले बताए।

‘नेपालमा आउँदा उहाँले छुट दिनु भएको हो,’ घिमिरेले भने, ‘नत्र त उहाँले सामाजिक सञ्जालमा एउटा पोस्ट गरेको पनि १ करोड भारतीय रुपैयाँसम्म लिनुहुन्छ।’ धवन डिसेम्बर ९ तारिखमा फर्कने छन्।

एनपीएल खेल्न भारतका धवनसहित सुरेश रैना, दिनेश कार्तिक, केदार जाधव, रोविन उथपाजस्ता स्टार खेलाडीले इच्छा देखाएका थिए । उनीहरुले करोडमाथिको मूल्य राखेका थिए । तीमध्ये कर्णालीले धवनलाई नै अनुबन्ध गर्न सफल भयो ।

धवनको प्रदर्शन

३८ वर्षीय बायाँ हाते ब्याटर धवनले सन् २०१३ मा मोहालीमा अष्ट्रेलिया विरुद्ध टेष्ट डेब्युमै शतक प्रहार गरेका थिए । डेब्यु टेष्टको पहिलो इनिङ्समै १८७ रन हानेका उनी प्लेअर अफ दि म्याच नै घोषित भएका थिए ।

त्यसअघि उनले सन् २०१० मा अष्ट्रेलिया विरुद्ध नै ओडीआईमा डेब्यु गरेका थिए भने २०२१ मा वेष्ट इन्डिज विरुद्ध टी-२०आईमा डेब्यु गरेका थिए ।

उनले भारतका लागि ३४ टेष्ट, १६७ ओडीआई र ६८ टी-२० आई म्याच खेलेका छन् । टेष्टमा ७ शतक मद्दतमा दुई हजार ३१५ रन बनाएका धवनले ओडीआईमा ६ हजार ७९३ रन बनाएका छन् जसमा १७ शतक समावेश छ । यस्तै टी-२०आईमा उनले ११ अर्धशतक मद्दतमा १ हजार ७५९ रन बनाएका छन् ।

धवनले भारतका लागि पछिल्लो पटक सन् २०२१ मा श्रीलंका विरुद्ध टी-२० आई म्याच खेलेका खेलेका थिए । यस्तै उनले भारतको राष्ट्रिय टिमका लागि पछिल्लो पटक सन् २०२२ डिसेम्बरमा बंगलादेशविरुद्ध ओडीआई म्याच खेलेका थिए ।

धवनले पछिल्लो सिजन पञ्जाब किंग्सबाट आईपीएल खेलेका थिए । उनले आईपीएलमा पाँच फरक टिमबाट गरी कूल २२२ खेल खेलेका छन् । जसमा उनले २ शतकसहित ६ हजार ७६९ रन बनाएका छन् । धवन आईपीएलमा लगातार दुई शतक हान्ने पहिलो खेलाडी समेत हुन् ।

उनले सबैखाले टी-२० गरी ३३४ खेल खेल्दै ९ हजार ७९७ रन बनाएका छन् । जसमा उनले २ शतक समेत प्रहार गरेका छन् ।

धवनले भारतका लागि च्याम्पियन ट्रफीदेखि एसिया कपसम्मका खेलहरु जितेका छन् । यस्तै धवनले सनराइजर्स हैदरवादबाट इन्डियन प्रिमियर लिग (आईपीएल) समेत जितेका छन् । (विभिन्न सञ्चारमाध्यमको सहयोगमा)