एसिया कपमा उत्कृष्ट नतिजा दिन तयार छौँ – प्रशिक्षक शक्ति गौचन

Image

काठमाडौं । नेपाली यु–१९ पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक शक्ति गौचनले यु–१९ एसिया कपमा उत्कृष्ट नतिजा दिन आफ्नो टोली तयार रहेको बताएका छन् ।

यूएईमा हुने यु-१९ एसिया कप खेल्न जाने नेपाली टिमको बिदाइ गर्न नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित कार्यक्रममा प्रशिक्षक गौचनले धेरै क्षमतावान युवा खेलाडी रहेकाले नेपाली युवा टोलीको छनोट गर्न कठिन रहेको बताए ।

उनले आफ्नो टिम एसिया कपमा उत्कृष्ट नतिजा दिन तयार रहेको बताए । प्रशिक्षक गौचनले भारतको कर्नाटकको टोलीसँगको मैत्रीपूर्ण खेल आफ्नो टोलीको लागि महत्वपूर्ण रहेको पनि बताए । नेपाली यु–१९ पुरुष क्रिकेट टोलीका कप्तान हेमन्त धामीले पनि भारतीय टोलीसँग भएको अभ्यास खेल उपयोगी रहेकाले त्यसका लागि क्यानलाई धन्यवाद दिए।

यस्तै, क्यानका सचिव पारस खड्काले आगामी यु–१९ विश्वकपमा छनोट हुनका लागि एसिया कप महत्त्वपूर्ण रहेको बताए। उनले नेपाली क्रिकेटको भविष्य पनि युवा टोलीसँग जोडिएकाले बिनादबाब खेल्न सुझाव दिए। पूर्वकप्तान खड्काले नेपाली टोलीले आफ्नो क्षमतालाई तिखारेर राम्रो प्रदर्शन गर्ने विश्वास पनि गरे।

संयुक्त अरब इमिरेट्स (यूएई) मा १४ देखि २३ मंसिरसम्म एसिया कप हुँदै छ । एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । नेपालले १४ मंसिरमा श्रीलंका, १६ मा बंगलादेश र १८ मंसिरमा अफगानिस्ताको सामना गर्नेछ ।

क्यानले शक्ति गौचनलाई मुख्य र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

हेमन्तको कप्तानीमा रहेको नेपाली टोलीमा आकाश त्रिपाठी, उत्तम थापामगर, मायन यादव, नरेन साउद, अर्जुन कुमाल (उपकप्तान), युनिशव्रिकम सिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, नरेन भट्ट, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी, रञ्जित कुमार छन् ।