काठमाडौं । यतिखेर नेपाल प्रिमियर लिगको चर्चा देशदेखि विदेशसम्म चुलिएको छ। स्वदेशी स्टार खेलाडीदेखि विदेशी खेलाडीसम्मको उपस्थितिले लिगको चर्चा चुलिएको हो। एनपीएलमा सहभागी हुने टोलीले विदेशी खेलाडी अनुबन्ध गरेको सूची हेर्दा पनि यसको चर्चा चुलिनु स्वभाविक हो। हो।
एनपीएलमा भारतीय चर्चित क्रिकेटर शिखर धवन, न्युजिल्याण्डका मार्टीन गप्टिल(जसले ओडीआई विश्वकपमा दोहोरो शतक प्रहार गरेका थिए),ओमनका जिसन मक्सूद, नामिबियाका कीर्तिमानी खेलाडी जन लफ्टी इटन पनि लिग खेल्दै छन्।
अष्ट्रेलिया, बेलायत‚ अमेरिका, दक्षिण अफ्रिका, वेष्ट इण्डिज, क्यानडा, हङकङ, अफगानिस्तानदेखि नेदरल्याण्ड्स लगायतका खेलाडी लिगमा रहेका छन्। घरेलु मैदानमा हुँदै गरेको लिगलाई कतिपयले क्रिकेटको उत्सवको रूपमा व्याख्या गरिरहेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको एनपिएल (नेपाल प्रिमियर लिग)ले अहिले सामाजिक सञ्जालहरू भरिएका छन्। खेल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म चल्नेछ।
८ टोली रहेका लिगमा क्रिकेटप्रेमीका लागि मंसिर १५ गतेको प्रतीक्षा रहेको छ। बल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली क्वालिफायरमा पुग्नेछन्।
पहिलो क्वालिफायरमा पुग्ने दुवै टोलीबीच सीधै फाइनल प्रवेशका लागि पुस ३ गते प्रतिस्पर्धा हुनेछ। खेलको विजेता टोलीले सीधै फाइनलमा स्थान बनाउँदा पराजित टोलीले अंक तालिकाको तेस्रो र चौथौ स्थानमा रहने टोलीबीच हुने ‘एलिमिनेटर’ खेलको विजेतासँग खेल्नुपर्नेछ।
अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीले पुस ३ गते नै ‘एलिमिनेटर’ खेल्नेछन्। ‘एलिमिनेटर’को विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित टोलीसँग खेल्नुपर्नेछ। करिब २१ दिन चल्ने खेलमा क्लबले कस्ता कस्ता विदेशी खेलाडी भित्र्याएका छन् त?
१. विराटनगर किङ्स
नेपाली क्रिकेटका सफल खेलाडी सन्दीप लामिछाने विराटनगर किङ्सका मार्की खेलाडी हुन्। टोलीका मुख्य प्रशिक्षक केभिन ओ‘ब्रायन रहेका छन्। क्लब विराटनगरले अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलमलाई टोलीमा समावेश गरेको छ।
- मार्टिन गप्टिल (न्युजिल्याण्ड)
गप्टिल ओडीआई विश्वकपमा दोहोरो शतक प्रहार गर्ने खेलाडी हुन्। गप्टिलसँग अन्ताराष्ट्रिय क्रिकेट र फ्रेन्चाइज क्रिकेट खेलेको धेरै अनुभव छ। गप्टिलले किवी टोलीका लागि ४७ टेष्ट, १९८ ओडीआई र १२२ टी-२०आई खेल खेलेका छन्। उनले ३४७ टी-२० खेल खेलेका छन्। ओडीआईमा एकै खेलमा अविजित २३७ रन बनाएका गप्टिलले टी-२० आईमा २ शतक प्रहार गरेका छन्। उनले टेष्टमा २ हजार ५८६ रन बनाएका छन् भने ओडीआईमा ७ हजार ३४६ रन बनाएका छन्। यस्तै टी-२० आईमा ३ हजार ५३१ रन बनाएका छन्।
- अकिब इल्यास (ओमान)
अकिबले ओमनका लागि ३२ ओडिआई तथा ५६ टी २० आई खेल खेलेका छन्। उनले ओडिआईमा २ शतकसहित १ हजार २३४ रन बनाएका छन्। यस्तै टी २० आईमा १० अर्धतशक मद्दतमा १ हजार ३३० रन बनाएका छन्। उनले ओडिआईमा २३ र टी२० आईमा ४७ विकेट समेत लिएका छन्।
- निकोलस किर्तन(क्यानडा)
उनले क्यानडाका लागि १८ ओडीआई र २५ टी-२० अन्ताराष्ट्रिय खेल खेलेका छन्। जसमा दुई अर्धशतकसहित ५६४ रन बनाएका छन्।
- क्रिस सोल (स्कटल्याण्ड)
स्कटल्याण्डका पेस बलर क्रिस सोलउनले स्कटल्याण्डका लागि १७ टी-२०आई म्याच खेल्दै १५ विकेट लिएका छन्। यस्तै सोलले ३१ ओडीआई खेलेका छन्।
- इस्मत आलम (अफगानिस्तान)
२२ वर्षीय इस्मत ब्याटिङ अलराउन्डर हुन्। उनले २० टी-२० म्याच खेल्दा २२५ रन बनाउनुका साथै १० विकेट लिएका छन्।
२. काठमाडौं गुर्खाज
काठमाडौँ गुर्खाजमा मार्की खेलाडी करण केसी हुन्। प्रशिक्षक वसन्त शाही रहेका छन्। काठमाडौंले माइकल लेभिट, मर्वी जेरार्ड इरसमस तथा स्टेफन इस्किनाजी, नाथन सावटर र ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ।
- माइकल लेभिट (नेदरल्यान्ड्स)
नेदरल्यान्ड्सका विष्फोटक ब्याटर लेभिटलाई नेदरल्यान्ड्सका लागि ८ ओडीआई खेलमा १८४ रन र १७ टी-२० आई खेलेमा ५५० रन बनाएका छन्।
- सन इस्किनाजी (इङल्याण्ड)
३० वर्षीय विकेटकिपर ब्याटर एस्किनाजीले १ सय १० टी-२० खेलमा ३ हजार १०५ रन बनाएका छन्।
- जेरार्ड इरास्मस (नामिबिया)
अलराउण्डर जेरार्डले टी-२० अन्ताराष्ट्रियमा उनले ६३ इनिङ्स खेलेका छन्। जसमा १ शतक र ११ अर्धशतकको सहायतामा १ हजार ५५७ रन बनाएका छन्। त्यस्तै बलिङमा ४४ इनिङ्सबाट ५३ विकेट लिएका छन्।
- ड्यान डौथेवेट (इङल्याण्ड)
३९ वर्षीय बोपाराले ४७८ टी-२० खेलमा ९ हजार ४ सय ४८ रन तथा २९१ विकेट आफ्नो नाममा गरेका छन्।
- नाथन सावटर
लेगस्पिनर नाथन सोटरले १४३ टी-२० खेलमा १५४ विकेट लिएका छन्।
३. पोखरा एभेन्जर्स
नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की खेलाडी रहेको पोखरा एभन्जर्समा पोखराका प्रशिक्षक भने राजीव कुमार हुन्। पोखराले म्याट क्रिचली, एन्डर्सन फिलिप,रेमन राइफर,आन्द्रेस गौस,बास डे लिडे, माइकल लिस्कलाई भित्र्याएको छ।
- म्याट क्रिचली (बेलायत)
उनले १४१ टी-२० खेल खेलेका छन्। जसमा १ हजार ९७३ रन बनाएका उनले १२० विकेट पनि लिएका छन्।
- एन्डर्सन फिलिप (वेष्ट इण्डिज)
राष्ट्रिय टोलीबाट दुईवटा टेस्ट क्रिकेट पनि खेलिसकेका फिलिपले टेस्ट क्रिकेटमा तीन विकेट लिएका छन् भने ५३ रन पनि बनाएका छन्।
पाँचवटा एकदिवसीय अन्ताराष्ट्रिय खेलेका उनले चार विकेट लिएका छन्। यो ढाँचाको क्रिकेटमा उनले २२ रन बनाएका छन्।
- रेमन राइफर (वेष्ट इण्डिज)
राइफर अलराउन्डर हुन्। उनले टी-२० मा ९३ म्याच खेलेका छन्। जसमा ११२४ रन बनाउँदै ६६ विकेट लिएका छन्।
- आन्द्रेस गौस (अमेरिका)
उनले अमेरिकाबाट २० अन्ताराष्ट्रिय खेलमा ५९८ रन बनाएका छन्। अमेरिकाबाट तीन एकदिवसीय खेल्दा १५२ रन बनाएका छन्।
- बास डे लिडे (नेदरल्याण्ड्स)
दायाँहाते ब्याटिङ गर्ने उनले नेदरल्याण्ड्सका लागि ४१ टी-२०आई खेल्दा ७२२ रन बनाएका छन्। त्यस्तै सबैखाले टी२-०मा उनले ६५ खेलमा ११२५ रन बनाएका छन् भने ४७ विकेट पनि लिएका छन्।
- माइकल लिस्क(स्कटल्याण्ड)
लिस्कले स्कटल्याण्डका लागि टी-२०आईमा ६७ खेल खेल्दा ७२६ रन बनाएका छन्। त्यसैगरी सबैखाले टी-२०मा उनले ८५ खेलमा ८५९ रन बनाएका छन्। उनी १३० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गर्छन्। त्यसैगरी दायाँहाते स्पिन बलिङ गर्ने उनले ४५ विकेट पनि लिएका छन्।
४. कर्णाली याक्स
अहिले सबैभन्दा चर्चामा रहेको टिम हो कर्णाली। शिखर धवनलाई आबद्ध गराएपछि क्लबको चर्चा चुलिएको हो। ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णालीका मार्की खेलाडी सोमपाल कामी हुन्। धवनका साथै सन मक्सूद, चाडविक एन्टोनिओ वाल्टन,मोहम्मद हुसैन तलात, बाबर हयात क्लबमा रहेका छन्।
- शिखर धवन (भारत)
धवनले भारतका लागि ३२ टेष्टमा दुई हजार ३१३ रन बनाएका छन्। १६७ एकदिवसीय खेलमा ६ हजार ७९३ रन बनाएका छन्। त्यसैगरी ६८ टी–२० अन्ताराष्ट्रिय खेलमा एक हजार ७५९ रन बनाएका छन्।
- जिसन मक्सूद (ओमन )
ओमनका लागि ४८ एकदिवसीयमा १२७३ रन बनाएका छन्। त्यसैगरी ७३ टी-२० खेलमा १३६९ रन बनाएका छन्। त्यस्तै बलिङतर्फ टी-२० आईमा ५१ विकेट लिएका छन्।
- चाडविक एन्टोनिओ वाल्टन (वेष्ट इण्डिज)
वाल्टनले सन् २०१४ मा अकल्यान्डमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध डेब्यु गरेको वाल्टनले १९ टी-२० आई खेल खेलेका छन्। जसमा २२५ रन बनाएका छन्। त्यस्तै, २ टेष्ट र ९ एकदिवसीय खेले खेलेका छन्।
- मोहम्मद हुसैन तलात (पाकिस्तान)
अलराउण्डर हुसैनले पाकिस्तानबाट १८ टी–२० आई खेलेका छन्। जसमा ३९४ रन बनाएका छन्। यस्तै १६९ टी-२० खेल खेलेका छन्।
- बाबर हयात (हङकङ)
३२ वर्षीय बाबरले हङकङका लागि ७९ टी-२० आई खेलमा एक हजार ९१० रन बनाएका छन्। हङकङका लागि उनले दुई शतक र १० अर्धशतक बनाएका छन्।
५. लुम्बिनी लायन्स
लुम्बिनी लायन्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल मार्की खेलाडी हुन्। क्लबका प्रशिक्षक नन्दन फडनिस हुन्। रोमोन सिमन्ड्स,थोमस मुर्स,बेन कटिङ,उन्मुक्त चन्द क्लबमा रहेका छन्।
- रोमोन सिमन्ड्स (वेष्ट इण्डिज)
बलर रोमोनले १२ ट्वान्टी–२० खेलमा १० विकेट लिएका छन्।
- थोमस मुर्स( इङल्याण्ड)
विकेटकिपसमेत रहेका २८ वर्षीय मुर्सले इङल्याण्डको यू-१९ टिमबाट खेलेका छन्। उनले सन् २०१६ मा बंगलादेशमा भएको आईसीसी यु-१९ विश्वकप खेलेका थिए। यस्तै उनले विभिन्न टी-२० फ्रेन्चाइज लिग खेलेका छन्। उनले विश्वभर गरेर १४७ टी-२० खेल खेलेका छन्।
- बेन कटिङ (अष्ट्रेलिया)
कटिङले आफूलाई टी–२० फर्म्याटमा एक विश्वसनीय अलराउन्डरको रूपमा स्थापित गरेका छन्। उनले १७० भन्दा धेरै टी–२० खेल खेलेका छन्। जसमा उनले २००० भन्दा बढी रन बनाएका छन्। उनले १२६ विकेट पनि लिएका छन्।
- उन्मुक्त चन्द (अमेरिका)
भारतीय मूलका अमेरिकी विकेटकिपर/ब्याटर उन्मुक्तले ६७ फस्ट क्लास खेलमा ३ हजार ३७९ रन बनाएका छन्। टी-२० मा उनले ९० खेलमा १ हजार ७९५ रन बनाएका छन्।
६. जनकपुर बोल्ट्स
जनकपुर बोल्टसका मार्की खेलाडी हुन् आसिफ शेख। प्रशिक्षकमा नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन्। क्लबले मोहम्मद मोहसिन,सोएब मक्सुद, जोसुआ ट्रोम्प,लाहिरु मिलान्था,जिमी नीशम, हर्ष ठाकरलाई भित्र्याएको छ।
- मोहम्मद मोहसिन (अमेरिका)
अमेरिकाको लिगमा खेल्ने पाकिस्तानी खेलाडीका रूपमा परिचित मोहम्मदले सबैखाले टी-२०मा ३० खेल खेल्दा २२ विकेट लिएका छन् भने १७९ रन बनाएका छन्। उनले क्यारेबियन प्रिमियर लिग, अमेरिकी मेजर लिग क्रिकेट र पाकिस्तान सुपर लिग खेलेका छन्।
- सोएब मक्सुद (पाकिस्तान)
पाकिस्तानका ३७ वर्षीय अलराउण्डर मक्सुदले एकदिवसीय र टी-२०आई पनि खेलिसकेका छन्। उनले पाकिस्तानका लागि टी-२०आईमा २६ खेलमा २७३ रन बनाएका छन्। सबैखाले टी-२०मा उनले १७० खेलमा ३९०० भन्दा धेरै रन बनाएका छन्।
- जोसुआ ट्रोम्प (अमेरिका)
अमेरिकाका १९ वर्षीय जोसुआ ट्रोम्प अलराउण्डर हुन्। ट्रम्पले हालसम्म अमेरिकाको राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएका छैनन्। ८ टी-२० खेलमा ट्रम्पले ९४ रन लिएका छन्।
- लाहिरु मिलान्था (अमेरिका)
श्रीलंकामा जन्मिएर अमेरिकाबाट खेल्दै आएका ३० वर्षीय विकेटकिपर ब्याटर मिलान्थाले फर्स्ट क्लासमा ६६ खेल खेल्दा ४५०० भन्दा धेरै रन बनाएका छन्। सबैखाले टी-२०मा ४६ खेल खेल्दा १०८२ रन बनाएका छन्।
- जिमी नीशम (न्युजिल्यान्ड)
न्युजिल्यान्डका ३४ वर्षीय अनुभवी ब्याटिङ अलराउण्डर हुन्। दायाँहाते मिडियम पेस बलिङ पनि गर्ने नीशमले १२४ विकेट पनि लिएका छन्। त्यस्तै उनले न्युजिल्यान्डका लागि टी-२०आईमा ७९ खेल खेल्दा ९४४ रन बनाएका छन्। त्यसैगरी सबैखाले टी-२० मा गरेर २८२ खेल खेल्दा ४०९२ रन बनाएका छन्। सबैखाले टी-२०मा २२३ विकेट पनि लिएका छन्।
- हर्ष ठाकर (क्यानडा)
२७ वर्षीय अलराउन्डर ठाकरले ३५ टी-२० आई खेलमा २९ विकेट तथा ४५१ रन बनाएका छन्।
७. चितवन राइनोज
यो टिममा कुशल मल्ल मार्की खेलाडी हुन्। टिम प्रशिक्षक उमेश पटवाल रहेका छन्। हसन इसाखिल,ल्युक मार्टिन बेनकेनस्टेइन, जन लफ्टी इटन, रवि भोपारा रहेका छन्।
- पेसर मार्चन्ट डी ल्याङ (दक्षिण अफ्रिका)
डी ल्याङले सन् २०११ मा श्रीलंकाविरुद्धको टेस्ट डेब्यु गरेका थिए। डेब्यु खेलमै सात विकेट लिएका थिए। ल्ङयाले दक्षिण अफ्रिकाका लागि २ टेष्ट, ४ ओडिआई र ६ टी-२०आई खेल खेलेका छन्। तर उनी घाइते हुँदा नेपिएल गुमाएका छन्।
- हसन इसाखिल (अफगानिस्तान)
१८ वर्षीय हसन ओपनिङ ब्याटर हन्। उनले अहिलेसम्म १६ टी-२० खेल खेलेका छन्।
- जन लफ्टी इटन (नामिबिया)
अलराउन्डर जान निकोल लफ्टी इटन नामिबियाका भरपर्दा खेलाडी हुन्। २३ वर्षीय लफ्टी इटनले गत वर्ष सबैभन्दा कम बलमा टी-२० अन्ताराष्ट्रिय शतक बनाउने विश्व कीर्तिमान बनाएका थिए। उनले ओडीआइको ३६ इनिङमा ९२३ रन बनाएका छन् भने टी-२० मा २७ खेलमा ४१४ रन बनाएका छन्।
- रवि भोपारा (इङल्याण्ड)
३९ वर्षीय ब्याटिङ अलराउन्डर भोपाराले १३ टेस्ट खेलेका छन्। जसमा उनले ५७५ रन बनाएका छन्। त्यस्तै १२० ओडीआईमा २६९५ रन बनाएका छन् भने ३० टी २०आईमा ७११ रन जोडेका छन्। उनले टेस्टमा १, ओडीआईमा ४० र टी २०आईमा १६ विकेट लिएका छन्।
८. सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी छन्। मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा रहेका छन्। क्लबले स्कट कुगेलेइन, ब्रान्डन मक्मलेन, रोहन मुस्तफा ,सेफ अलि जेबलाई भित्र्याएको छ।
- स्कट कुगेलेइन (न्युजिल्यान्ड)
न्युजिल्यान्डका अलराउन्डर स्कटले टेस्ट, ओडीआई र टी-२० आई तीनै फर्म्याटमा खेलेका छन्। स्कटले पछिल्लो पटक यसै वर्ष मार्चमा अष्ट्रेलियाविरुद्ध टेस्ट खेलेका थिए। टी-२० मा १६८ विकेट लिनुका साथै एक हजार २२ रन बनाएका छन्।
- ब्रान्डन मक्मलेन (स्कटल्यान्ड)
अलराउन्डर मक्मलेनले स्कटल्यान्डबाट १६ टी-२० आईमा ६ अर्धशतकसहित ४९७ रन बनाएका छन्। उनी स्कटल्यान्डको ओडीआई टोलीको पनि सदस्य हुन्। २२ ओडीआईमा उनले २ शतक र २ अर्धशतकसहित ७२१ रन बनाएका छन्।
- रोहन मुस्तफा (यूएई)
यूएईको कप्तान समेत रहेका ३६ वर्षीय रोहनले ओडीआई र टी-२० आईमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका छन्। बायाँहाते ब्याटर उनले ५८ टी-२० आईमा १ हजार माथि रन जोड्नुका साथै ६१ विकेट पनि लिएका छन्।
- सेफ अलि जेब (इङल्याण्ड)
जेबले अहिलेसम्म ७४ टी-२० खेल खेलेका छन्।