यु १९ एसिया कपमा आज नेपाल र बंगलादेश भिड्दै, यस्तो छ खेल सुरु हुने समय

Image

काठमाडौं । एसीसी यु १९ एसिया कपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान सवा १० बजेबाट सुरू हुनेछ ।

आफ्नो पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबमा छ । हेमन्त धामीको टिमले श्रीलंका विरुद्ध ५५ रनको हार ब्यहोरेको थियो । सो खेलमा नेपालका सन्तोष यादवले चार विकेट लिए पनि श्रीलंकाले पूरै ओभर खेल्दै दुई सय ३३ रन बनाएको थियो । नेपालका लागि मयन यादवले ६० रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेख्य रहेन ।

आज टेस्ट राष्ट्र बंगलादेशसँग शक्ति गौचनको प्रशिक्षणमा रहेको नेपालले शानदार ब्याटिङ गर्नुको विकल्प छैन । ओपनर आकाश त्रिपाठी र मयनको प्रदर्शनमा आजको नतिजा निर्भर रहनेछ । अर्जुन कुमाल, सन्तोष र नरेन भट्ट पनि लामो समय क्रिजमा टिक्नु आवश्यक छ । मध्यक्रम नेपालको चिन्ताको विषय हो ।

यो खेल नेपालका लागि पुनरागमनको अवसर पनि हो । साविक विजेता बंगलादेश भने उपाधि रक्षाको यात्रामा छ । बंगलादेशले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले हराएको थियो । बंगलादेशका कप्तान अजिजुल हकिमले एक सय तीन रनको शानदार इनिङ्स खेलेका थिए । कलाम सिद्धिकी पनि उच्च फर्ममा छन् । बंगलादेश दुई अंकका साथ समूह ‘बी’को दोस्रो स्थानमा छ । शीर्ष स्थानको श्रीलंकाको पनि दुई अंक नै छ । तालिकाको पुच्छारमा रहेको नेपाल अंकविहीन छ ।